आज:  | Mon, 20, Jan, 2025

प्रत्यक्ष तर्फ महिला उम्मेदवारको सङ्ख्या घट्दै

२७ आश्विन २०७९, बिहीबार ०९:३५ मा प्रकाशित ( २ साल अघि) ६२७ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – दलहरूले महिला नेतालाई उम्मेदवार बनाउनै कन्जुस्याईँ गरेपछि यस पटक पनि संसदमा महिला उपस्थिती बलियो नहुने देखिएको छ । कम्तीमा एक तिहाइ उम्मेदवार महिला हुनैपर्ने निर्वाचन आयोगको निर्देशनलाई बेवास्ता गर्दै दलहरूले यसपटक पनि औँलामा गन्न सकिने गरि मात्र महिला उम्मेदवार उठाएका छन् ।

पहिलो संविधान सभामा १२ दशमलव ५ प्रतिशत, दोस्रो संविधान सभामा ४ प्रतिशत र २०७४ सालको निर्वाचनबाट ३ दशमलव ६ प्रतिशत महिला निर्वाचित भएका थिए । आसन्न निर्वाचनमा प्रतिनिधि सभातर्फ ९ प्रतिशत मात्रै महिला उम्मेदवार छन् । यो सङ्ख्या २०७४ सालको निर्वाचनको तुलनामा झण्डै २ प्रतिशत बढी भए पनि यसमा धेरैजसो स्वतन्त्र उम्मेदवार छन् ।

एमालेबाट दाङ क्षेत्र नम्बर १ का उम्मेदवार शान्ताचौधरीले महिला उम्मेदवार उठाउन नचाहनु गलत भएकाले यो निर्वाचनले महिलालाई निर्वाचित गरेर महिला पनि पुरुष भन्दा कम छैनन् भन्ने पुष्टि गर्ने बताउनुभयो । तेह्रथुमबाट उम्मेदवार बन्नुभएका काँग्रेसका केन्द्रीय सदस्य सीता गुरुङ महिलालाई समानुपातिकमा सीमित गर्नु हुँदैन भनेर पनि आफु प्रत्यक्ष तर्फको उम्मेदवार बनेको बताउनुहुन्छ ।

संविधानमा कम्तिमा ३३ प्रतिशत सांसद महिला हुनैपर्ने प्रावधान छ । तर दलहरूले यो प्रावधान समानुपातिक तर्फबाट परिपूर्ति गर्दै आएका छन् । नेकपा माओवादीका तर्फबाट काठमाडौँ ७ का उम्मेदवार मानुसी यमी भट्टराईले नेपालको निर्वाचन प्रणाली नै महिला उम्मेदवारका लागि सबैभन्दा ठूलो चुनौती रहेको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । यसपटकको चुनावमा कतिपय उम्मेदवार पहिलो पटक निर्वाचनको परीक्षा दिने जोखिम मोलिरहेका छन् ।
चलचित्रमा महिला सशक्तिकरणका चरित्र निर्वाह गर्नुभएका नायिका रेखा थापा मोरङ क्षेत्र नम्बर ३ मा राप्रपाबाट उम्मेदवार हुनुहुन्छ । महिलालाई अझै कमजोर पात्रका रुपमा हेरिने चरित्र फेर्न आवश्यक रहेकाले प्रत्यक्ष तर्फ नै उम्मेदवार दिएको थापाको भनाइ छ । प्रत्यक्ष तर्फ महिलालाई उम्मेदवार बनाउन दलहरूले कन्जुस्याईँ गरेपछि अधिकारकर्मीहरू भने चिन्तित भएका छन् ।

महिला अधिकारकर्मी शर्मिला कार्कीले महिला सहभागिताका लागि आफुहरूले धेरै कुरा उठाए पनि दलहरूले अझै पालना नगरेको बताउनुभयो । महिलाको नेतृत्व क्षमतालाई कम आँक्ने दलका शिर्ष नेताको बुझाइ अनि दलभित्र महिला नेताले दबाब बढाउन नसक्दा राजनीतिमा महिलाको आकर्षण र उपस्थिती बढ्न सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस