काठमाडौँ १३ फागुन ,शनिबार
नेपालको सर्वोच्च पद भावी राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज शनिबार उम्मेदवारी दर्ता हुँदै छ । राष्ट्रपति निर्वाचन भने यही फागुन २५ मा हुने भएको छ । उम्मेदवारी दर्ता गर्नका लागि आज शनिबार १० बजेदेखि अपराह्न दिउसो ३ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्य तालिका अनुसार मनोनयन पत्र दर्ता भएपछि उम्मेदवारको सूची शनिबार ४ बजेसम्म सार्वजनिक हुने भएको छ ।
उम्मेदवारीका विषयमा दलहरूले कसलाई बनाउने भन्नेमा टुँगो लगाउनका लागी दलहरु भित्र छलफल जारी रहेको जानकारी गराएका छन् ।
शनिवार विहान ७ बजेसम्मको लानकारी अनुसार कांग्रेस र एमालेले उम्मेदवार उठाउने सम्भावना बढी छ । संघीय सांसद र प्रदेश सांसद राष्ट्रपति निर्वाचनका मतदाता हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाताको अन्तिम नामावली शुक्रबार सार्वजनिक भईसकेको छ ।
शुक्रबार निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नामावली अनुसार संघीय संसद्का दुई जनाको नाम समावेश गरिएको छैन । रवि लामिछानेको सांसद पद बदर भएपछि चितवन–२ मा रिक्त रहेको छ ।
त्यस्तै मनाङबाट निर्वाचित भएका टेकबहादुर गुरुङ पनि निलम्बनमा परेका कारण उनको नाम मतदाता सूचीमा समावेश गरिएको छैन । सुरक्षाकर्मी थमन विकको हत्या आरोप लागेकी एमाले सांसद लक्ष्मी महतो कोइरीलाई थुनामा राख्नु पर्ने नाम भने मतदाता नामावलीमा समावेश गरिएको छ ।
उनी फरार रहेको प्रहरीले संसद् सचिवालयलाई समेत जानकारी गराइसकेको छ । कानुनी आधार नभएपछि फरार भए पनि उनी सांसदकै हैसियतमा रहेका छन् । निलम्बन नभएसम्म सांसद रहने भएकाले मतदाता नामावलीमा नाम राखिएको निर्वाचन अधिकृतको कार्यालयको भनाई रहेएको छ ।
संसद् भवन बानेश्वरमा मतदानस्थल तोकिएको छ । उम्मेदवारी दर्ता पनि संसद्कै ल्होत्से भवनमा हुँदै छ । निर्वाचन कार्यक्रम को कार्य तालिका अनुसार उम्मेदवारको विरोधमा आइतबार सम्म उजुरी दिन सकिनेछ ।
उजुरी परेमा उक्त उजुरी माथी छानविन गरी सोमबार सोही दिन नाम सार्वजनिक हुने भएको छ । उम्मेदवारको अन्तिम नामावली मंगलबार प्रकाशन हुनेछ । २५ गते हुने निर्वाचनमा निर्वाचित हुन उम्मेदवारले बहुमत ल्याउनु पर्नेहुन्छ । उम्मेदवारले बहुमत ल्याउन नसकेमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार बीच पुन ः मतदान हुनेछ ।
त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ । मतदानबाट समेत कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ ।
दोस्रो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार नै नेपालको भावी राष्ट्रपतिमा निर्वाचित हुन सक्ने ब्यवस्था रहेको छ ।
भगवती उप्रेती
नारी वाटिका संवाददाता
प्रतिक्रिया दिनुहोस