आज:  | Sun, 28, Apr, 2024

आज विश्व बाघ दिवस हाल बाघको संख्या बढेर तेब्बर व्यवस्थापन गर्नमा भने निकै समस्या

१३ श्रावण २०८०, शनिबार १५:०४ मा प्रकाशित ( ९ महिना अघि) ४०८ पाठक संख्या
नारी बाटिका


काठमाडौं, १३ साउन ।

हरेक वर्ष आजकै दिन विश्व बाघ दिवसका रुपमा मनाउदै आईरहेको छ । विगतमा जस्तै यस वर्षको दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ । हाल बाघको सङ्ख्या बढेर तेब्बर भईरहदा व्यवस्थापन गर्नमा भने निकै समस्या रहेको वताइन्छ । यो दिवसको नारा ‘मानव(बाघ सह अस्तित्व’ रहेको छ ।

वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम गरी मनाईएको हो । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतना सम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था पनि गरिएको मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

वाघ दिवसकै अवसरमा बाघ सम्बन्धी दश वर्षे (सन् २०२३देखी २०३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उप महानिर्देशक अजय कार्कीले जानकारी दिनु भयो । कार्ययोजनामा बाघको संख्या वृद्धि भएसँगै व्यवस्थापनमा निकै चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्ने सम्बन्धी मुख्य विषय रहेको उहाँले बताउनु भयो ।

यस्तै पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । तर सङ्कल्प दोब्बर,बनाउने रहेको भएता पनि वृद्धिमा भने झण्डै तेब्बर भईसकेको वताईन्छ ।

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणना अनुसार नेपालमा रहेका तत्कालीन बाघको संख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको जनाइएको छ । नेपालले उक्त सम्मेलनमा बाघको संख्या दोब्बर बनाउन गरेको प्रतिबद्धता भन्दा बढी संख्यामा बाघ बढाउन सफल भएको छ ।

गणना अनुसार सबै भन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ थिए । । साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्ला फाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणना समेत गर्दै आएको छ । बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ रहेको विभागको तथ्याङ्क छ । सन् २०१८ मा गरिएको गणना अनुसार बाघको संख्या बढेर दुई ३५ पुगेको थियो ।

नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको संख्या रहेको अनुमान थियो । त्यो संख्या सन् २०१० मा घटेर तीन हजार दुई सयमा सीमित भएको थियो । विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको संख्या बढेर २०१६ मा तीन हजार नौ सय र सन् २०२२ मा चार हजार पाँच सय पुगेको विश्व वन्यजन्तु कोषको तथ्याङ्क छ ।

सन् २०१६ को तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी भारतमा दुई हजार दुई सय २६ र सबैभन्दा कम लाओसमा दुई वटा बाघ थिए ।बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु भईसकेको छ । नेपालमा बाघको संख्या बढेसँगै यसको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधार लगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् ।

उनीहरुलाई जङ्गल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविको पार्जनको उपायको व्यवस्था मिलाउने कार्यक्रमहरू पनि गर्दै आएको छ ।
हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा दुई सय मानिसको मृत्यु भएको तथ्याङ्क छ । साथै क्षतिपूर्तिवापत सरकारले रु ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ । वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षति लगायत घट्ना बढ्दै गएका छन् ।

त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९र८० मा बाघको आक्रमणबाट १२, आव २०७८र७९ मा २१, आव २०७७र७८ मा १३, आव २०७६र७७ मा आठ र आव २०७५र७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो ।

विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

साथै वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्न सके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविको पार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्‍याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस