आज:  | Sat, 04, May, 2024

आजबाट श्रीस्वस्थानी व्रत प्रारम्भः साथमा पूजा, व्रतविधि र श्रीस्वस्थानी धार्मिक अर्थ समेत

११ माघ २०८०, बिहीबार ०७:५५ मा प्रकाशित ( ३ महिना अघि) ४२५ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

काठमाडौं ११ माघ ।

आजबाट श्रीस्वस्थानी व्रत प्रारम्भः हुंदैछ । साथमा श्रीस्वस्थानी ब्रत लिईने भक्तजनहरुले पूजा कसरी गर्ने र व्रतविधि के के हो भनेर विस्तृत रुपमा खुलाएको छ । आजबाट पौष शुक्ल पूर्णिमाका दिनदेखि हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुरु हुँदैछ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुन्नेलाई पनि मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

धार्मिक ग्रन्थमा उल्लेख गरिए अनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउ भनी विष्णुको सल्लाह लिई निराहार रहेर श्रीस्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निमित्त यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नु भएको कथाका रूपमा यो नेपाली भाषामा प्रचलित छ ।

धार्मिक विश्वास

श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको दोस्रो जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गर्दै ध्यान गरिरहन्थिन् ।

उनको विवाह गर्ने उमेर भएपछि पिता हिमालय पर्वतले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिनु भयो ।

विष्णुुले महादेव पति पाउन श्री स्वस्थानी देवीको व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको धार्मिक विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा यस व्रतकथा प्रचलित हुँदै आएको छ ।

१ महिनासम्म व्रतालुहरुले छुन नहुने वस्तु

क. नुन, माछा, मासु, मरमसला
ख. दुध र पानी बाहेक अन्य कुनै किसिमको पेय पदार्थ सेवन गर्न नहुने

१ महिनासम्म व्रतालुहरुले भोजन गर्न हुने वस्तुहरु

क. दुध चामलको भात, घिउ, चाकु, चिनि, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो ।
ख. भिमा एकादशीका दिनमा दुई पटक व्रत बसिसके पछि त्यो एक दिन फलहार सुन्तला, उखु, तरुल,पिँडालु तथा दुध मात्र ।

१ महिनासम्म व्रतालुहरुले भोजन छोड्नु पर्ने अवस्था

क. भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा अन्य भोजन गर्न बर्जित गरिएका वस्तुहरु आएमा भोजन छोड्नु पर्दछ ।
ख. फाटेको दुध सेवन गर्नु हुँदैन ।
ग. भेजन गर्दा गर्दै बीचमा उठनु हुँदैन र उठिसके पछि फेरि दोहोर्याएर भोजन गर्नु हुदैन ।

१ महिनासम्म पुरुष व्रतालुहरुले पालना गर्नु पर्ने नियमहरु

क. पुरुष व्रतालुहरुले कुनै पनि किसिमका रातो टिका तथा रातो वस्त्र लगाउन पाउने छैन ।
ख. नित्य पूजा गर्नु अगाडि सम्पूर्ण पुरुष व्रतालुहरुले चन्दनको टिका लगाएको हुनु पर्दछ ।

परापूर्वकाल देखि चल्दै आएको एवं भगवान विष्णुको आदेशमा माता पार्वतिको आज्ञा अनुसार तीन लोकमा नै श्रीस्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मत्र्य लोकमा सप्त ऋषि एवं पाताल लोकमा अवस्थामा ऋषिलाई पार्वति माताले पठाउनु भएको थियो ।

पूजा तथा व्रतविधि

व्रत बस्ने अघिल्लो दिनदेखि नै यसको तयारी सुरु हुन्छ । व्रत बस्नेले अघिल्लो दिनदेखि नै आफ्नो हातखुट्टाको नङ काटी स्नान गरेर आफूलाई शुद्ध राख्नुपर्छ । व्रत सुरु भएपछि व्रतालुले हरेक दिन स्नान गरेर श्रीस्वस्थानी माताको पूजा आरधना गर्नुपर्छ । हरेक दिन साँझ परिवार हुनेले समूहमा बसेर तथा नहुने एक्लै बसेर भएपनि श्रीस्वस्थानी व्रतकथा वाचन गर्नुपर्छ ।

स्वस्थानीको शाब्दिक अर्थ

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समयलाई विशेष उत्तम मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई श्रीस्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी माता हुन् भनी पुराणमा उल्लेख गरिएको छ ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश तथा काठमाडौं क्षेत्रमा पर्ने हालको साँखु क्षेत्रको राजा भएको कथा समेत श्रीस्वस्थानी ब्रत कथामा वर्णन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%४%३%

प्रतिक्रिया दिनुहोस