आज:  | Sun, 19, May, 2024

आ.व.२०७९ । ०८० को कार्यसम्पादनमा भरतपुर महानगर उत्कृष्ट पालिका बन्न सफल

१० फाल्गुन २०८०, बिहीबार १५:४१ मा प्रकाशित ( २ महिना अघि) ३४५ पाठक संख्या
नारी बाटिका


चितवन १० फागुन ।

आर्थिक वर्ष २०७९ । ०८० को कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट पालिका बन्न सफल भएको छ । देशभरिका ६ महानगरपालिका मध्य भरतपुर महानगर उत्कृष्ट पालिकामा छनौट हुन सफल भएको हो।

देशभरका ६ महानगर मध्ये भरतपुर महानगरलाई प्राकृतिक स्रोत तथा वित्त आयोगले उत्कृष्ट घोषणा गरेको हो। गत आर्थिक वर्ष २०७९ ।० ८० को कार्यसम्पादन मूल्याङ्कनको आधारमा भरतपुर महानगर पहिलो भएको हो।

आयोगले १७ वटा सूचकका आधारमा हरेक वर्ष स्थानीय तहले गरेका कार्यसम्पादनको आधारमा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्रदेशको मूल्याङ्कनमा पर्न सफल भएको हो।

आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना भए,नभएको, राजस्वको विभाजन गरे,नगरेको लगायत सूचकमा मूल्यांकन गर्ने गरेको महानगरपालिकाले जनाएको छ ।

यसैगरी गत असार १० भित्र बजेट ल्याए,नल्याएको, असार ३० भित्र बजेट पास भयो,भएन,घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा पठाए,नपाएका जस्ता आधारमा मूल्याङ्कन गर्ने गरिन्छ।

आयोग संवैधानिक निकाय हो । संघीयतामा संघ, प्रदेश र स्थानीय तहहरुको राजस्व बाँडफाँट, अन्तर तह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ।

स्थानीय तहलाई एकमुष्टरुपमा समानीकरण अनुदान दिन आधारहरु तयार गरेर मूल्याङ्कन गर्छ ।आयोगले दिएको जानकारीअनुसार भरतपुरले ५६.२९ प्रतिशत अङ्क प्राप्त गरेको जनाएको छ ।

यसरी अंक पाउनेमा काठमाडौं महानगरपालिकाले ३९.०२, वीरगञ्ज महानगरपालिकाले ३३.४९, विराटनगर महानगरपालिकाले ३२.८५, ललितपुर महानगरपालिकाले २५.१८ र पोखरा महानगरपालिकाले २०.७४ प्रतिशत अंक पाएका छन् ।

जिल्लाका सात स्थानीय तहमध्येमा पनि भरतपुर महानगरपालिका पहिलो भएको छ। भरतपुरले ५६ दशमलव २९ प्रतिशत अंक प्राप्त गर्दा इच्छाकामना गाउँपालिकाले ४२.०६ प्रतिशत, खैरहनी नगरपालिकाले ४०.५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ४०.०१ प्रतिशत, कालिका नगरपालिकाले ३५.६८ प्रतिशत, राप्ती नगरपालिकाले ३१.७५ प्रतिशत र माडी नगरपालिकाले २६.२०प्रतिशत अंक पाएका थिए।
यसैगरी गत वर्षमा पनि महानगरले प्रथम स्थान हासिल गरेको थियो र यस आ.व.पनि महानगरले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%४%१%

प्रतिक्रिया दिनुहोस