आज:  | Sat, 04, May, 2024

आज महाशिवरात्रि पर्व,भगवान शिवजीको विशेष पुजाआरधना गर्न पशुपतिमा दर्शनार्थीको घुइँचो

२५ फाल्गुन २०८०, शुक्रबार ०८:१० मा प्रकाशित ( १ महिना अघि) ५०१ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

काठमाडौं -२५ फागुन, ।

महाशिवरात्रि पर्व हो । आज भगवान शिवजीको विशेष पुजाआरधना गर्न पशुपतिमा दर्शनार्थीको घुइँचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी तिथिको मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा(आराधना गरी आज देशभर मनाइँदैछ ।

सबै व्रतहरुकै मध्ये पनि सर्वोत्तम मानिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा गई पूजा(अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने धार्मिक मान्यता रही आएको छ ।

महाशिवरात्रिका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर,चोक र मठमन्दिरमा दाउरा ,काठका मुडा बालेर शिवधुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।

धर्मको पनि मुल धर्म ब्रतको पनि मुल ब्रत राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको आजको दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

यस्तै कैलाशकूट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गर्ने गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका शिव महादेव भगवान लगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्दछ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि गत वर्षमा जस्तै यस वर्ष पनि प्रबन्ध मिलाइएको पशुपती ब्यवस्थापन कोषले जनाएको छ ।
पशुपती क्षेत्रमा विशेषगरी योगी,साधु सन्त बाबाहरुले आजको दिन गाँजा, भाङ, धतुरो लगायत लागूपदार्थ सेवन गर्ने भएकोले विगत चारवर्षदखी यस कार्यलाई निषेध गरिएको छ ।

साथै लागु पदार्थको रुपमा लिएको गाँजा, भाङ, धतुरो बिक्री बितरण गर्न,सेवन गर्र्न आदी कार्यलाई कानुनले पनि निषेध गरिएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ गरी कारबाही गर्ने भएकोले सचेत रहन समेत प्रहरीले सबैमा अनुरोध गरेको छ ।

बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन मात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

महाशिवरात्रिमा भक्तजनहरुको ठुलो भिड लाग्ने भएकोले मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाल लगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गर्ने गरिएको छ । यस महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड(दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी(इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली(गौशाला तथा एयरपोर्ट(तिलगङ्गा भएर पिङ्गलास्थान(सुमार्गी भवन हुँदै चार शिवालय(पञ्चदेवल दक्षिण ढोकाबाट एक(एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ ।

नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकाली लगायत स्थानमा व्यवस्था मिलाइएको छ ।

आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर लगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस