आज:  | Sat, 27, Apr, 2024

सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारी

१५ चैत्र २०८०, बिहीबार ०५:४९ मा प्रकाशित ( १ महिना अघि) ११३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १५ चैत।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारी‘ गरेको छ । डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्य अनुसार ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्न लागिएको हो । मन्त्रालयले साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षा सम्बन्धी तयारी, चुनौतीको पहिचान, रोकथाम, प्रतिक्रिया तथा पुनः लाभ लगायतका कामको लागी स्थापना हुने भएको हो ।

यसैगरी सम्पर्क निकायका रूपमा कार्य गर्न तथा डिजिटल फोरेन्सिक अनुसन्धान गर्न केन्द्रको स्थापना गर्न लागेको जनाएको छ । यस कार्यका लागी गत माघ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो। मन्त्रालयका सहसचिव तथा केन्द्रका प्रमुख अनिलकुमार दत्तका अनुसार, ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको बताउनु भयो ।

केन्द्र व्यवस्थापनका लागी १२ जना कर्मचारी राखिने र केही दिनमै कार्यालय स्थापना गर्ने तयारी भैरहेको छ।’ नेपालमा मात्रै नभइ पछिल्लो समयमा अन्य देशमा पनि साइबरबाट हुने जोखिम समेत बढ्दै गएको र नेपालको सन्दर्भमा अझै बढी असुरक्षा बढ्दै गएकोले केन्द्र स्थापना गर्न लागिएको दत्तको भनाइ छ।

‘प्रविधिको विकास संगसंगै साइबर असुरक्षा बढिरहेको छ, सबैलाई कम्प्युटर कसरी चलाउने भन्ने बारेमा नेपालमा राम्रो ज्ञान छैन, जता पनि वाइफाई फ्री छ, तर सो को व्यवस्थित गर्न ठाउँ ठाउँमा पुग्नुपर्ने हुन्छ,’ प्रमुख दत्तले भन्नु भयो।

यस विषयमा केन्द्रले संवेदनशील सूचना पूर्वाधारको चौबिसै घण्टा अनुगमन, साइबर घटना तथा जोखिम मूल्याङ्कन गर्ने, आकस्मिक रूपमा आइपर्ने साइबर जोखिमलाई समाधान गर्नका लागि प्राविधिक जनशक्ति सहितको आकस्मिक सहायता समूहको गठन गर्ने र आकस्मिक रूपमा आइपर्ने साइबर जोखिमलाई समाधान गर्नका लागि प्रदेश तथा स्थानीय तहले आकस्मिक सहायता समूह गठन गर्न लागेका उहाँले बताउनु भयो ।

डिजिटल नेपाल फ्रेमवर्क २०७६ मा रहेका आठवटा क्षेत्रमध्ये एउटा डिजिटल फाउन्डेसन छ, त्यो अन्तर्गत डाटा सेन्टर बनाउने, डिजिटल हस्ताक्षर, कागजलेस गभर्मेन्ट र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भनिएको थियो, सोहीअनुसार गत आर्थिक वर्षको सुरुमा अध्ययन गरियो। उक्त अध्ययनको रिपोर्टका आधारमा कार्यालय स्थापनाको तयारी गरिएको बताउनु भयो ।’ चालु आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमा पनि साइबर सुरक्षा केन्द्र स्थापना गर्ने उल्लेख थियो।

अहिले मन्त्रालयमा सञ्चालनमा रहेको सूचना प्रविधि आकस्मिक अनुगमन केन्द्रलाई पनि राष्ट्रिय साइबर सुरक्षा केन्द्रमै राखिने भएको छ। तत्कालका लागि सानो ठाउँबाट केन्द्र सञ्चालन गरे पनि बिस्तारै देशैभरि हेर्ने गरी भवनमै कार्यालय राख्ने मन्त्रालयको योजना छ। केन्द्रले आवश्यकताअनुसार संवेदनशील सूचना पूर्वाधारका धनी, अनुमतिपत्र प्राप्त सेवा प्रदायक तथा साइबर सुरक्षा परीक्षकलाई निर्देशन दिनेछ। यस्तो निर्देशनको पालना गर्ने सम्बन्धी संवेदनशील सूचना पूर्वाधारका धनी तथा अनुमतिपत्र प्राप्त सेवा प्रदायक व्यक्तिको कर्तव्य हुनेछ।

साइबर सुरक्षा जोखिम अनुगमन गर्ने, राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक स्वास्थ्य, सार्वजनिक शान्ति र व्यवस्था वा सार्वजनिक सुरक्षा वा अत्यावश्यक सेवालाई पार्न सक्ने साइबर सुरक्षाका घटनाको प्रतिकार्य गर्ने लगायत केन्द्रको काम, कर्तव्य र अधिकार रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस