आज:  | Sat, 18, May, 2024

केही दिनदेखी थपिंदै गएको वायु प्रदूषणका कारण स्वास्थ्य समस्या बढ्दै

२२ बैशाख २०८१, शनिबार १९:१९ मा प्रकाशित ( १ हफ्ता अघि) १४१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २२ वैशाख ।

पछिल्लो समयमा देशभर खडेरी परिरहेको छ भने वायु प्रदूषण पनि बड्दै गएको छ । जसका कारण केही दिनदेखि घाँटी खसखस गर्ने, टाउको दुख्ने,धेरै हाछ्यु आउने जस्ता समस्या देखिन थालेको छ ।

यतिवेला विभिन्न अस्पतालहरुमा आँखा पोल्ने र आँसु धेरै आउने अनि अत्यधिक टाउको दुख्ने जस्ता समस्याका बिरामीहरु बढ्दै गएका छन् । यस समयमा चिकित्सकले केही दिन सकभर घरबाहिर नहिँड्न सुझाव दिएका छन् । पछिल्लो केही दिनयता मानिसहरू यस्तै खाले समस्या लिएर अस्पताल पुग्ने संख्या बढ्दो छ। यसको प्रमुख कारण हामीले फेर्ने प्रदूषित हावा रहेको विज्ञहरूको भनाइ छ।

एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीमा पहिलो, दोस्रो र तेस्रो स्थानमा परिरहेको छ। यो समाचार तयार पारिरहँदा काठमाडौं विश्वको प्रदूषित शहरको दोस्रो स्थानमै यथावत छ।

देशको एकदुई स्थानमा फाट्फुट वर्षा भएपनि सबै ठाउँमा जसो वर्षा हुन सकेको छैन । जताततै डढेलो लागेका कारण वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन रूपमा असर गर्ने विभिन्न तथ्यांकले बताइरहेका छन्। पछिल्लो समयमा नसर्ने रोग पनि प्रकोपकै रूपमा देखिन थालेका छन्, जसले गर्दा नसर्ने रोगका कारण हुने मृत्युदरको प्रमुख कारण पछिल्ला वर्षहरूमा वायु प्रदूषण पनि एक रहेको चिकित्सकहरु बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल नेपालमा वायु प्रदूषणका कारणले हुने मृत्युदरमा मस्तिष्कघात ३७ प्रतिशत रहेको छ भने मुटुरोगबाट ३४ प्रतिशत, फोक्सो क्यान्सरबाट हुने मृत्युदर ३४ प्रतिशत र नवजात शिशु तथा बालबालिकामा हुने मृत्युदर २२ प्रतिशत रहेको छ।

वायु प्रदूषणले विशेष गरी वृद्धवृद्धा, बालबालिका, सुत्केरी,श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी साथै गर्भावस्थाका महिलामा बढी जोखिम हुने गर्दछ । चिकित्सक शेरबहादुर पुन। उनले भने‚ ‘वायु प्रदूषण बढ्दा आँखा पोल्ने, नाक चिलाउने, घाँटी खसखसाउने, खोकी लाग्ने जस्ता तत्काल देखिने स्वास्थ्य समस्या हो भने दीर्घकालीन रूपमा नसर्ने ठूला रोगहरूको पनि प्रमुख कारक तत्त्व बन्न सक्छ। त्यसैले वायु प्रदूषण रोक्नु नै उत्तम उपाय हो।’

बढ्दो वायु प्रदूषण, बढ्दो तापक्रम, अत्यधिक वर्षा तथा बाढी पहिरोजस्ता कारणले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मानव स्वास्थ्यमा असर परिरहेको छ। प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक तापक्रम र वायु प्रदूषणले मानव स्वास्थ्यमा सुषुप्त महामारीकै रूप सिर्जना गरिरहेको जनस्वास्थ्य तथा वातावरणविद् डा। मेघनाथ धिमाल।बताउनु हुन्छ ।

‘तत्कालीन रूपमा यसले आँखा पोल्ने, नाक चिलाउने, घाँटी खसखसाउने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या त देखिन्छ नै दीर्घकालीन रूपमा नसर्ने रोगहरूको कारक तत्त्व बन्ने मात्रै होइन मानिसको प्रजनन क्षमतामा असर गरिरहेको हुन्छ’‚ डा। धिमालले भन्नु भयो ।

नेपालमा बढ्दै गएको वायु प्रदूषण र तापक्रमले समयअगावै बच्चा जन्मने, उच्च तापक्रमले पुरुषहरुको शुक्रकीट उत्पादनमा असर गर्ने जस्ता प्रजनन क्षमतामा समेत असर गर्ने विज्ञहरूले बताउँदै आएका छन्।

विगत दुई वर्षयता फागुन, चैत, वैशाख र जेठ महिनामा काठमाडौँ लगायतका नेपालका ठुला शहरमा अत्यधिक वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रको तथ्यांकले देखाएको छ। यसको प्रमुख कारण भनेको उच्च गर्मी हुने यस मौसममा ठूला वनजंगलमा आगलागी हुने भएकोले पनि यो समस्या बड्दै गएको बताइन्छ।

यस्तै सुक्खा मौसममा प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारणजस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारीसाधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुँवा धुलोबाट वायु प्रदूषण हुने गरेको बताइएको छ। जसले गर्दा केही दिनयता काठमाडौँ उपत्यका सहित देशका ठूला शहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ। ‍

भू(उपग्रहको तथ्यांक विश्लेषणको विवरणअनुसार सन् २०२४ को सुरुवातदेखि हालसम्म एक हजार ६५३ डढेलो तथा आगलागीका घटना भएको देखिन्छ। पछिल्लो समयमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालका अधिकांश भूभागमा वायु प्रदूषण बढेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस