आज:  | Fri, 19, Apr, 2024

सामुदायिक विद्यालयमा चार वर्ष यता २० प्रतिशतले विद्यार्थी घटे

२ बैशाख २०८०, शनिबार ०८:४५ मा प्रकाशित ( १ साल अघि) ३८८ पाठक संख्या
नारी बाटिका


काठमाडौं २ गते वैशाख शनिवार ।

देशका अधिकाँश जसो सामुदायिक विद्यालयहरुमा वर्षैनी विद्यार्थी संख्या घट्दो क्रम रहेको छ । चार वर्षको अवधिमा सामुदायिक विद्यालयमा २० प्रतिशत विद्यार्थी घटेका छन्। तर निजी तथा संस्थागत विद्यालयहरुमा भने यस चार वर्षको अवधिमा ४७.५५ प्रतिशत विद्यार्थी बढाउन सफल भएको पाइएको हो ।यो तथ्याङक शनिबार गोरखापत्र दैनिकले प्रकाशन गरेको समाचारमा जनाइएको छ,।

सरकारले हरेक वर्ष अन्य क्षेत्रको तुलनामा सबै भन्दा धेरै रकम शिक्षा क्षेत्रमा खर्च गर्दै आएको छ। निःशुल्क र स्तरीय शिक्षाका नाउमा गरिएको लगानीको सही सदुपयोग नहुँदा यस्तो अवस्था आएको महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६०औँ प्रतिवेदनमा उल्लेख गरिएको हो ।

उक्त प्रतिवेदनले औंल्याए अनुसार विद्यालय तहमा अध्ययनरत कुल विद्यार्थी मध्ये सामुदायिक तर्फ (कक्षा एकदेखि १२ सम्म) ७०.९४ प्रतिशत अध्ययनरत छन्। यही तहमा संस्थागत विद्यालयले विद्यार्थीको हिस्सा भने २७.३९ प्रतिशत ओगटेका छन्। बाँकी विद्यार्थी धार्मिक प्रकृतिका विद्यालयमा अध्ययनरत छन् । आधारभूत तहमा वितेको २०७८ सालमा भर्ना भएका विद्यार्थीको तथ्यांक अनुसार सामुदायिक विद्यालयमा ७२.८ प्रतिशत र संस्थागत विद्यालयमा २७.२ प्रतिशत रहेको छ।

पछिल्लो समयमा विद्यार्थीहरुमा सामुदायिक विद्यालय प्रति आकर्षण घट्दै जानुमा नमुना विद्यालयमा खर्च गरेको १४ अर्ब रुपैयाँको उपलब्धि नभएको, तोकिएको समयमा पाठ्यपुस्तक उपलब्ध नभएको तथा निःशुल्क तथा अनिवार्य शिक्षा सम्बन्धी ऐनमा भएको कानुनी व्यवस्थालाई कार्यान्वयनमा ल्याउन नसक्नु पनि यसको मुख्य कारण भएको प्रतिवेदनमा उल्लेख छ।

मुलुकभर २७ हजार ८१२ वटा सामुदायिक विद्यालय मध्ये जम्मा ४२२ वटा अर्थात् १.५१ प्रतिशत विद्यालयलाई मात्रै नमुनाका रूपमा छनोट गरेर स्तरोन्नतिको कार्ययोजना बनाउनु वैज्ञानिक नभएको महालेखाको तर्करहेको छ। सबै विद्यालयमा आवश्यक पर्ने न्यूनतम सुविधा नमुनाका रूपमा छनोट भएका विद्यालयलाई मात्र दिइनुले पनि सिकाइमा अपेक्षित सुधार हुन नसकेको हो।

नमुना विद्यालय विकास एवं कार्यक्रम सञ्चालन निर्देशिका, २०७४ अनुसार विद्यालयमा आवासीय सुविधा, पुस्तकालय, खेल मैदान, वैकल्पिक विद्युतीय व्यवस्था, घेरबार तथा बगैँचा, प्रशासकीय भवन, शिक्षण भवन तथा कक्षाकोठा, प्रयोगशाला, खानेपानी तथा सरसफाइलगायतका कार्यमा रकम खर्च गरिएको छ।

त्यस्तै अघिल्लो वर्ष निःशुल्क पाठ्यपुस्तक वितरणका लागि छुट्याइको स्थानीय तहमा दुई अर्ब ९२ करोड ३४ लाख रुपैयाँ निकासा भएको थियो। विद्यालयमा तोकिएका पाठ्यपुस्तक समयमा पुगे नपुगेको सम्बन्धमा केन्द्रले अभिलेख भने नराखेको र कतिपय जिल्लाका विद्यालयमा तोकिएको समयमा पाठ्यपुस्तक पुगेको छैन।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय शिक्षामा सरकारी लगानी अझै कम रहेको र हाल गरिएको लगानीको पनि उचित व्यवस्थापन नहुँदा समस्या आएको बताएका छन् ।

देशभर सबै प्रकारको विद्यालय संख्या ७२ हजार ८९५ छ। यी विद्यालयमा कुल ८१ लाख छ हजार ३२९ जना विद्यार्थी अध्ययनरत छन्। कुल विद्यालय मध्ये पूर्व प्राथमिक विद्यालय ३६ हजार ९२६ छ । जसमा सामुदायिक संस्थागत र धार्मिक प्रकृतिका विद्यालय पर्छन्, । यस विद्यालयहरुमा १० लाख १० हजार १९५ विद्यार्थी अध्ययनरत छन्।

त्यस्तै कक्षा एकदेखि नौसम्म पढाइ हुने आधारभूत तहको विद्यालय २६ हजार ६२८ विद्यालय छन्, जहाँ ५३ लाख २५ हजार ९८० विद्यार्थी अध्ययनरत छन्। माध्यमिक तह अर्थात् कक्षा नौदेखि १२ सम्म पढाइ हुने सबै प्रकृतिका विद्यालय सङ्ख्या ११ हजार ३४१ वटा छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस