
नारी बाटिका
रसुवा- ९ मंसिर ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा लिएको चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । साथै उक्त जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले तीनवटै आयोजनाबाट उत्पादित विद्युत्को २२०र१३२र३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।
कूल १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएसंगै विजुलीको खपतलाई सहयोग पुर्याउनेछ ।
सो मध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी हालसम्म करिब रु ३० करोडको विद्युत् बिक्री गरिसकेको बताईएको छ ।
यसैगरी ४२ दशमलव पाँच मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्यसम्पन्न गरी यही मंसिर ७ गते शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु भएको छ ।
एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत् उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि तोकिएको मापदण्ड पूरा गरी साञ्जेन र रसुवागढीको व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ ।
दुबै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रुपमा विद्युत् उत्पादन हुनेछ । नदी प्रवाहमा आधारित यस आयोजनाबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुने बतइएको छ ।
चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा दुई सय ७० मेगावाटका चार वटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेको सीबाहेक तीन वटा आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पन तथा बाढी पहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, विभिन्न आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा समस्या आएको,साथै प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरोको कारण निर्माण कार्यमा निकै वाधा परेको थियो ।








प्रतिक्रिया दिनुहोस