आज:  | Sat, 03, May, 2025

सरकारी नम्बर प्लेटका दुईवटा गाडीबाट प्रहरीले ६९० किलो लागुऔषध बरामद

२० मंसिर २०८१, बिहीबार ०५:१० मा प्रकाशित ( ४ महिना अघि) ४१६६ पटक पढिएको
नारी बाटिका


सुनसरी २० मंसिर ।

कानून मन्त्रालय र अख्तियारको नम्बर प्लेट भएको गाडीबाट प्रहरीले लागुऔषध ६९० किलोसहित चालकलाई बरामद गरेको छ । सरकारी नम्बर प्लेट भएका दुईवटा गाडीबाट सुनसरी प्रहरीले लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा बुधबार ६९० किलो गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी कार्यलय कै गाडीबाट उक्त परिमाणको लागुऔषध बरामद गरेको हो।

बुधबार राति गस्तिमा गएका धरान(१३ अमरहाट भन्ने स्थानमा प्रहरीको चेकिङ छलेर सरकारी गाडी भाग्ने क्रममा गाडी र चालकलाई नियन्त्रणमा लिन ४ राउण्ड गोली समेत फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ।

उक्त घटनाबारे इलाका प्रहरी कार्यालय धरानस्थित प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी घटना बारे सार्वजनिक गरेको थियो । प्रहरीले लागुऔषध गाँजासहित बरामद सरकारी नम्बर प्लेटका गाडीको सन्दर्भमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

सो घटना सम्वन्धमा प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाँजा बोक्न प्रयोग भएका दुवै गाडीको नम्बर प्लेट भने सरकारी निकायका गाडीको नम्बरसँग मेल खाएको जनाएको छ । उक्त गाडीमा बा १ झ ५१२७ नम्बरको नम्बर प्लेट कानून तथा न्याय मन्त्रालयको गाडीसँग मेल खाएको छ।

त्यसैगरी बा १ झ ४६०५ नम्बरको गाडीको नम्वर भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बरसँग मिलेको प्रहरीको भनाइ छ। यद्यपि नम्बर प्लेट मिले पनि गाडी सम्बन्धित कार्यालयको हो कि होइन ? भन्ने विषयमा अनुसन्धानपछि मात्र खुल्ने सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताउनु भयो ।

गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरी चेकिङलाई नै ठक्कर दिने गरी तस्करले गाडी भगाएपछि चार राउण्ड गोली फायर गरिएको प्रहरी प्रमुख तिम्सिनाको भनाइ छ। प्रहरीले गाँजासहित मोरङको सुन्दर हरैंचा(११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई नियन्त्रणमा लिएको छ भने फरार भएका अर्का चालकको खोजी भइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस