आज:  | Mon, 12, May, 2025

भारत–पाकिस्तानबीच युद्धविराम अमेरिकाको मध्यस्थततामा रोकियो युद्ध

२८ बैशाख २०८२, आईतवार ०८:२६ मा प्रकाशित ( २१ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


काठमाडौं  २८ वैशाख ।

कश्मीरको पहलगाममा गत अप्रिल २२ मा एक नेपालीसहित २६ जनाको ज्यान लिने गरी भएको आतंककारी आक्रमणपछि भड्किएको भारत–पाकिस्तान युद्ध चार दिनपछि अन्त्य भएको छ ।

पहलगाममा भएको आतंककारी हमलाको प्रतिशोध लिन भारतले गत मंगलबार मध्यरातमा पाकिस्तान विरुद्ध ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही गरेपछि भड्किएको भारत–पाकिस्तान युद्धमाथि शनिबार बिराम लागेको हो ।

शुक्रबार राती भएको अमेरिकाको मध्यस्थतामा लामो वार्तापछि भारत र पाकिस्तान दुवैले युद्धविराममा सहमति जनाएका छन् । दुवै देशका सीमामा लगातार ड्रोन आक्रमण र गोलाबारी जारी रहेको र तनाव उत्कर्षमा पुगेको समयमा दुवै देशले संयमता देखाउँदै युद्धविरामका लागि सहमति गरेका हुन् ।

भारतले पाकिस्तानको तीनवटा हवाई अड्डामा आक्रमण गरेपछि पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुनयान मरसूस’ नामक जवाफी सैन्य कारबाही गरेका थिए। भारत–र पाकिस्तान युद्धमा ६० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

भारतका विदेश सचिव विक्रम मिसरीले युद्धविरामको पुष्टि गर्दै शनिबार दिउँसो ३ बजेर ३५ मिनेटमा पाकिस्तानका डायरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स (डीजीएमओ)ले भारतको डीजीएमओलाई फोन गरेको र दुवै देशका डीजीएमओबीच भएको टेलिफोन वार्तामा तत्काल लागू हुने गरी युद्धविराम भएको कुरा सार्वजनिक गरिएको हो ।

सोही वार्तामा भएको सहमति अनुसार शनिबार साँझ ५ बजेदेखि नै दुवै देशको आकाश, जल र स्थल गरी तीनै प्रकारको सैन्य कारबाही रोकिएको थियो । युद्धविरामपछिको वार्ता भएसंगै पुनः आगामी सोमबार अर्थात् मे १२ तारिखमा दुई देशका डीजीएमओबीच थप वार्ता हुने विदेश सचिव मिसरीले बताएका छन् ।

युद्धविराममा पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसाक डारले पनि सामाजिक सञ्जाल मार्फत पाकिस्तानले तत्काल युद्धविराममा सहमति जनाएको जानकारी दिए । पाकिस्तानले सधैं आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी यस क्षेत्रको शान्ति र सुरक्षाका लागि प्रयास गरेको बताइएको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले राष्ट्रको गौरव र खुसी ल्याउन सफल भएको भन्दै पाकिस्तानी सेनालाई धन्यवाद दिएका छन् ।

युद्धविरामको बारेमा सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै जानकारी दिएका थिए । उनले अमेरिकी मध्यस्थतामा रातभरि जारी लामो वार्तालापपछि दुवै देश युद्धविरामका लागि सहमत भएको जनाएका हुन् । दुवै पक्षले पूर्ण र तत्काल युद्धविराममा सहमति भएकोमा खुसी व्यक्त गर्दै दुवै देशलाई बुद्धिमता देखाएकोमा राष्ट्रपति ट्रमले बधाई दिएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस