
नारी बाटिका
काठमाडौं २८ वैशाख ।
कश्मीरको पहलगाममा गत अप्रिल २२ मा एक नेपालीसहित २६ जनाको ज्यान लिने गरी भएको आतंककारी आक्रमणपछि भड्किएको भारत–पाकिस्तान युद्ध चार दिनपछि अन्त्य भएको छ ।
पहलगाममा भएको आतंककारी हमलाको प्रतिशोध लिन भारतले गत मंगलबार मध्यरातमा पाकिस्तान विरुद्ध ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही गरेपछि भड्किएको भारत–पाकिस्तान युद्धमाथि शनिबार बिराम लागेको हो ।
शुक्रबार राती भएको अमेरिकाको मध्यस्थतामा लामो वार्तापछि भारत र पाकिस्तान दुवैले युद्धविराममा सहमति जनाएका छन् । दुवै देशका सीमामा लगातार ड्रोन आक्रमण र गोलाबारी जारी रहेको र तनाव उत्कर्षमा पुगेको समयमा दुवै देशले संयमता देखाउँदै युद्धविरामका लागि सहमति गरेका हुन् ।
भारतले पाकिस्तानको तीनवटा हवाई अड्डामा आक्रमण गरेपछि पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुनयान मरसूस’ नामक जवाफी सैन्य कारबाही गरेका थिए। भारत–र पाकिस्तान युद्धमा ६० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
भारतका विदेश सचिव विक्रम मिसरीले युद्धविरामको पुष्टि गर्दै शनिबार दिउँसो ३ बजेर ३५ मिनेटमा पाकिस्तानका डायरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स (डीजीएमओ)ले भारतको डीजीएमओलाई फोन गरेको र दुवै देशका डीजीएमओबीच भएको टेलिफोन वार्तामा तत्काल लागू हुने गरी युद्धविराम भएको कुरा सार्वजनिक गरिएको हो ।
सोही वार्तामा भएको सहमति अनुसार शनिबार साँझ ५ बजेदेखि नै दुवै देशको आकाश, जल र स्थल गरी तीनै प्रकारको सैन्य कारबाही रोकिएको थियो । युद्धविरामपछिको वार्ता भएसंगै पुनः आगामी सोमबार अर्थात् मे १२ तारिखमा दुई देशका डीजीएमओबीच थप वार्ता हुने विदेश सचिव मिसरीले बताएका छन् ।
युद्धविराममा पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसाक डारले पनि सामाजिक सञ्जाल मार्फत पाकिस्तानले तत्काल युद्धविराममा सहमति जनाएको जानकारी दिए । पाकिस्तानले सधैं आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी यस क्षेत्रको शान्ति र सुरक्षाका लागि प्रयास गरेको बताइएको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले राष्ट्रको गौरव र खुसी ल्याउन सफल भएको भन्दै पाकिस्तानी सेनालाई धन्यवाद दिएका छन् ।
युद्धविरामको बारेमा सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै जानकारी दिएका थिए । उनले अमेरिकी मध्यस्थतामा रातभरि जारी लामो वार्तालापपछि दुवै देश युद्धविरामका लागि सहमत भएको जनाएका हुन् । दुवै पक्षले पूर्ण र तत्काल युद्धविराममा सहमति भएकोमा खुसी व्यक्त गर्दै दुवै देशलाई बुद्धिमता देखाएकोमा राष्ट्रपति ट्रमले बधाई दिएका थिए।







प्रतिक्रिया दिनुहोस