आज: २०८२ श्रावण १०, शनिबार | Sat, 26, Jul, 2025

भिजिट भिसामा कुवेत जान लागेका ४७ जना महिलालाई भारतबाट फर्काइयो

२०८२ श्रावण ९, शुक्रबार मा प्रकाशित ( १ दिन अघि) १५५१ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

काठमाडौँ -९ साउन ।

पछिल्लो समयमा झन् धेरै संख्यामा भिजिट भिसामा विदेशिनेहरुको संख्या बढ्दै गएकोले यसरी विदेश जानेका लागी सरकारले कडाई गर्न थालेको छ ।

यसै क्रममा चोर बाटोको प्रमुख रुपमा रहेको भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिलालाई नेपाल फर्काइएको हो ।

दलालहरुले दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत लैजान लागेका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही ल्याइएको जनाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनु भयो। प्रजिअ घिमिरेका अनुसार नेपाल फर्काइएका महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ।

घटना सम्वन्धमा गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनु भएको छ । यो विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस