नारी वाटिका संवाददाता
धादिङ -२४ साउन ।
आज रक्षाबन्धन,, जनै पूर्णिमा तथा ऋषि तर्पणीपर्व देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर र क्वाँटी खाएर मनाइँदै छ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा हो । आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधिने गरिन्छ। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिएका थिए । त्यसै बखतबाट म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक धार्मिक विस्वासका आधारमा रक्षाबन्धनको परम्परा अनुसार मानिदैं आएको छ।
आजको दिन रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन जनै,लगाउने जातियहरुले ६ डोराको जनै मन्त्रिएर नयाँ जनै फेरेर लगाउने गरिन्छ । त्यस्तै महिला र वर्तवन्ध नगरेका किशोरहरुले भने नाडीमा डोरो बाँध्ने वैदिक परम्परा छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दैगुरु,ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।
आजकै दिन तागाधारीले यज्ञोपवीत धारण गर्दै ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने शास्त्रमा उल्लेख गरिएको छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान भनिन्छ।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ साथै अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो।
वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ। रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायक लगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यका लगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।
यसका साथै जनै पूर्णिमाका दिन आज एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटीको झोल बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तागत भर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ।
नेपालीको घर घरमा विभिन्न थरीका गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदिक मान्यता छ । चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता चिसोबाट लाग्ने धेरै रोग पनि निको हुनेमान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। तर पछिल्लो समयमा भने यो परम्परा नेपालको पहाडी क्षेत्रमासमेत बढ्न थालेको छ।
प्रतिक्रिया दिनुहोस