आज: २०८२ भाद्र २३, सोमबार | Mon, 08, Sep, 2025

आजदेखि सोह्र श्राद्ध सुरु भएसंगै दशैंको आगमन पनि नजिकियो

२०८२ भाद्र २३, सोमबार मा प्रकाशित ( ११ घण्टा अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

काठमाडौँ -२३ भदौ ।

आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । आज सोह्र श्राद्ध आरम्भकै दिनदेखी सोह्र श्राद्ध तिथि अनुसारले गर्नु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा आफ्ना परिवारका दिवङ्गत पितृलाई स्मरण गर्दै सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । हिन्द धर्म अनुसार यस १६ दिनको समयमा विशेषगरी आफ्ना पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास गरिन्छ । यो समयमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने धार्मिक मान्यताका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ ।

जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध गर्न छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश यस तिथिमा अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको छ ।

साथै त्यस समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत सिन्धु, धर्मसिन्धु लगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस