आज: २०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै

२०८२ माघ ९, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ- ९ माघ । बिबियु

आज माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व । आज कै विशेषगरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी देशभर यस पर्व मनाइँदैछ।

विशेषगरी विद्यार्थी वर्गका लागी आज वसन्त पञ्चमीका दिन सरस्वतीको रुप किताब,कामी,कलम लगायतलाई पूजा आरधना गरे विद्या तथा शिक्षा बुद्धि हुने विश्वास रहेको छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्दछ। विद्यालय पठाउने बेला भएका साना बालबालिकालाई समेत आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन रहेको छ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वती मातालाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता फरक फरक नामले पुकार्ने गर्दछन्। त्यसैले आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ।

विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वती माताले वरदान दिएकाले उहाँ कै रूप मानी पूजा आराधना गरिएको हो । त्यस्ूत्रै तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन्।

आजबाट सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिएको हो । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको महत्व ठुलो छ।

त्यसैगरी गान्धर्व पुराणमा सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ। आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह इही जस्ता धार्मिक कार्य गर्न साइत जुर्नु पर्दैन भन्ने विश्वास छ। तर यस वर्ष यही माघ १५गतेसम्म शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन।

आज काठमाडौंका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि भक्तजन, खासगरी विद्यार्थी वर्गको घुइँचो लाग्ने गर्छ। धार्मिक मान्यता अनुसार सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने विश्वास छ।

श्रीपञ्चमी कैअवसरमा आज हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने प्रचलन छ । शुक्रबार बिहान १०ः२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्न साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस