आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

मध्यपूर्व युद्धले १७ लाख नेपाली जोखिममा,एकको मृत्यु,१४ घाइते

२०८२ फागुन २७, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं – २७ फागुन ।

अमेरिका र इजरायले संयुृक्त रुपमा इरानमाथि गरेको आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ भने १४ जना नेपाली कामदारहरु घाईते भएका छन् । यससंगै केही समयदेखी मध्यपूर्व क्षेत्रमा चर्किएको युद्ध र तनावका कारण त्यहाँ रहेका १७ लाखभन्दा बढी नेपाली नागरिक असुरक्षित बनेको अवस्था छ ।

परराष्ट्र मन्त्रालयले जनाए अनुसार हालसम्म उक्त क्षेत्रमा एक नेपालीको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। इरानले मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी गरेको ड्रोन र मिसाइल आक्रमणका क्रममा त्यहाँ रहेका नेपाली घाइते भएका हुन्। घाइते सबै उपचारपछि पुनः आ–आफ्नो कम्पनीमा फर्किसकेको मन्त्रालयले जनाएको छ।

केही दिनअघि संयुक्त अरब इमिरेट्स (युएई) मा इरानले आक्रमण गर्दा गोरखा घर भएका एक नेपालीको ज्यान गएको थियो। सोही आक्रमणमा युएईमै रहेका १४ जना नेपाली घाइते भएका हुन्।

फागुन १६ मा अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव चर्किँँदै गएको हो। त्यसपछी इरानले इजरायलसँगै मध्यपूर्व र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरेर मिसाइल तथा ड्रोन आक्रमण निरन्तर गरिरहेको छ। इरानले युएई, साउदी अरब, कतार, कुवेत, ओमान, बहराइन र जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा लगातार आक्रमण गरिरहेको छ।

यसरी ठुला र शक्तिशाली देशकाबिचमा युद्ध चकिँदै जाँदा मध्यपूर्व र खाडी क्षेत्रमा रहेका नेपालीहरू त्रास र हताहतको अवस्थामा छन्। परराष्ट्र मन्त्रालयका अनुसार हाल १७ लाख २९ हजार २८८ नेपालीहरु उक्त क्षेत्रमा कार्यरत छन्। तीमध्ये सबैभन्दा बढी करिब सात लाख नेपाली युएईमा रहेको दावी गरिएको छ।

ति मध्य साउदी अरबमा तीन लाख ८४ हजार ८६५, कतारमा तीन लाख ५७ हजार ९१३, कुवेतमा एक लाख ७५ हजार, ओमानमा २५ हजार, बहराइनमा २८ हजार, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेको सरकारी तथ्याङक छ । त्यस्तै इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, लेबनानमा एक हजार ५०० र इरानमा हाल ६ नेपाली मात्र रहेको मन्त्रालयले पुष्टी गरेको छ।

मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र तनावका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई लिएर नेपाल सरकारले विशेष चासो देखाएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमरजेन्सी रेसपोन्स टिम’ (ईआरटी)ले त्यस जोखिम क्षेत्रमा रहेका नेपालीको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने निर्णय गरेको छ।

साथै त्यहाँ रहेका नेपाली नागरिकहरुमा जोखिम बढ्दै गएकाले, ५७ हजार नेपालीले सरकारलाई आफ्ना विवरण टिपाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस