आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

सर्वोच्चद्वारा लामिछानेको मुद्दा संशोधनमा भएको टिप्पणी झिकाउन आदेश

२०८२ चैत्र ६, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ ६ चैत ।

सर्वोच्च अदालतले रवि लामिछानेको अभियोग पत्र संशोधनका लागि दिइएको निर्देशन र सम्बन्धित कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले बिहिबार आदेश झिकाउन आदेश दिएको हो । अदालतले जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीको लिखित जवाफमा उल्लेख भएको तर महान्यायाधिवक्ता कार्यालयद्वारा पेस नभएको टिप्पणीसहित आदेशको प्रतिलिपि माग गरेको हो ।

गत पुस ३० गते महान्याधिवक्ता कार्यालयले मातहतका जिल्ला सरकारी वकिल कार्यालयहरूलाई अभियोग पत्र संशोधनका लागि निकास दिने गरी आदेश भएको थियो । सोही आदेश विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुन विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए ।

यसै क्रममा गत माघ २ गते ‘त्रुटि सच्याई’ विचाराधीन मुद्दाका सबै प्रतिवादीहरू उपर दायर भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराध तर्फको अभियोग संशोधन गर्ने गरी निकास दिइएको व्यहोरा जिल्ला सरकारी वकिल कार्यालय, रूपन्देहीको लिखित जवाफमा उल्लेख गरी पठाएको थियो ।

यता महान्यायाधिवक्ताको कार्यालयबाट पेस भएको लिखित जवाफमा गत माघ २ गतेको त्रुटि सच्याइएको भनिएको ‘टिप्पणी आदेश’को प्रतिलिपि संलग्न नदेखिएपछि अदालतले सम्बन्धित कागजात र अन्य प्रमाणहरू अनिवार्य रूपमा झिकाउन भनेको छ ।

उक्त कागजातहरू झिकाई सर्वोच्चले यसै चैत ९ गतेका लागि तोकिएको पेशीमा हेर्न नमिल्ने न्यायाधीश बाहेकको इजलाससमक्ष नियम अनुसार पेस गर्न निर्देशन दिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस