आज:  | Thu, 28, Mar, 2024

लम्पी स्किन रोगबाट बागमती प्रदेशमा मात्रै अठार हजार गाई सङ्क्रमित

३ जेष्ठ २०८०, बुधबार १४:४६ मा प्रकाशित ( १0 महिना अघि) ६०७ पाठक संख्या
नारी बाटिका


दिङ,०३ जेठ ।

घर पालुवा पशु चौपायमा लाग्ने लम्पी स्किन भन्ने रोगबाट बागमती प्रदेशमा मात्रै अठार हजार गाई सङ्क्रमित पाइएको छ । बागमती प्रदेशका १३ जिल्लामा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ नामक रोगको सङ्क्रमण बढ्न थालेको हो।

प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पहिलो चरणमा गरिएको तथ्याङ्क अनुसार हाल सम्म १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण देखिएको जनाएको छ ।

पछिल्लो समयमा देशभर फैलिएको लम्पी स्किन रोग गाई भैँसीमा देखा पर्न थालेपछि धमाधम पशुचौपाया मर्न थालेका छन् । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार सबै भन्दा बढी मकवानपुर जिल्लामा यस रोगको सङ्क्रमण देखिएको छ ।

चार हजार आठ सय ३५ गाईमा उक्त रोग देखा परेको छ भने एक सय ९७ गाईको मृत्यु भइसकेएको उहाँले जानकारी दिनु भयो

सिन्धुलीमा नौ हजार छ सय ३४ सङ्क्रमित र ४७ गाईको मृत्यु भएको छ । त्यस्तै, रामेछापमा एक हजार नौ सय ६५, चितवनमा एक हजार ६० गाईमा उक्त रोगको सङ्क्रमण देखिएको सचिव पाण्डेले बताउनु भयो ।

प्रदेशको रसुवा र दोलखामा रोग पुष्टि नभएकाले सङ्क्रमित सङ्ख्या शून्य देखिएको छ । धादिङ जिल्लाको भने विवरण मन्त्रालयमा आइनसकेको उहाँको भनाइ छ।

हालसम्म गाईमा मात्र सङ्क्रमण भएको र भैँसीमा उक्त रोग सङ्क्रमण नभएको सचिव पाण्डेले बताउनु भयो । काठमाडौँमा ८३, ललितपुरमा ४०, काभ्रेमा चार सय, नुवाकोटमा तीन सय, सिन्धुपाल्चोकमा छ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन रोग देखा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मकवानपुरगढी गाउँपालिकामा सबै भन्दा बढी सङ्क्रमण फैलिएको छ भने मनहरि गाउँपालिकासहित अन्य पालिकामा गाई सङ्क्रमित भएका पाइएको मन्त्रालयले जनाएको छ । रोगबाट पशुमा हुने मृत्युदर कम करिब ५ प्रतिशत भए पनि दुहुना पशुको दूध उत्पादनमा उल्लेख्य ह्रास ८० प्रतिशत सम्म हुने भएकाले किसानलाई ठूलो आर्थिक क्षति पुगेको सचिव पाण्डेले बताउनु भयो ।

“रोग नियन्त्रण गर्न रोगको कारण, लक्षण, यसबाट किसानमा पुग्ने क्षति तथा नियन्त्रण र रोकथामका उपाय बारे किसान र सबै सरोकारवाला समक्ष जनचेतना फैलाउने काम भैरहेको छ”, उहाँको भनाइ रहेको छ । रोगको जोखिम युक्त क्षेत्रको पहिचान गरी खोप यथाशीघ्र सुरु गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलाई निर्देशन दिई सकिएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस