आज:  | Fri, 19, Apr, 2024

झन् झन् थपपिंदै छ नेपालीको थाप्लोमा ऋणको भारी,साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

९ जेष्ठ २०८०, मंगलवार ०८:३२ मा प्रकाशित ( ११ महिना अघि) ६६४ पाठक संख्या
नारी बाटिका


काठमाडौं मंगलवार जेठ ९ ।

हाम्रो दिन,रात र महिनाको गन्तिमा उमेर र वर्ष थपिए संगै पछिल्लो समयमा झन् झन् थपपिंदै छ नेपालीको थाप्लोमा ऋणको भारी पनि । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रुपैयाँ नाघिसकेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्त सम्ममा नेपालले १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ आन्तरिक र १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख रुपैयाँ बाह्य गरी कुल २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख रुपैयाँ बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

चालु आर्थिक वर्ष २०७९र८० शुरु हुँदा अर्थात् गत असार मसान्त सम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ बराबर थियो । तर पछिल्लो यस चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मात्र एक खर्ब ४० अर्ब ८२ करोड ७५ लाख बराबर रुपैयाँ ऋण थपिएको हो ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँलाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ४० प्रतिशत बराबर देखिएको छ । जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदर समेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा झन् देशको अर्थतन्त्रलाई जोखिममा पार्ने सक्ने देखिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिना अवधिमा मात्र सरकारले दुई खर्ब ३० अर्ब २४ करोड ६७ लाख रुपैयाँ ऋण उठाएको छ भने एक खर्ब ४३ अर्ब ४२ करोड दुई लाख रुपैयाँ बराबर साँवा ब्याज समेत भुक्तानी गरेको छ ।

वैशाख मसान्त सम्ममा सरकारले गरेको पूँजीगत खर्च भन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब १८ अर्ब रुपैयाँले बढी हो । वैशाख मसान्त सम्ममा सरकारको पूँजीगत खर्च एक खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बराबर रहेको छ ।

यसरी एका तर्फ सरकारको राजश्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्को तर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याज समेत बढ्दै गैरहदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने देखिएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा एक खर्ब १० अर्ब ४२ करोड ५८ लाख रुपैयाँ र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ३२ अर्ब ९९ करोड ६२ रुपैयाँ खर्चिएको हो ।

आन्तरिक ऋण तर्फको साँवा रकम ६३ अर्ब ४७ करोड ४४ लाख रुपैयाँ, ब्याज ४६ अर्ब ८५ करोड तीन लाख रुपैयाँ र कमिसन रकम १० करोड ११ लाख रुपैयाँ बराबर रहेको छ । त्यस्तै, बाह्य तिर्नु पर्ने ऋणको दायित्व तर्फ साँवा भुक्तानीमा २५ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ र ब्याज भुक्तानीमा सात अर्ब पाँच करोड १४ लाख रुपैयाँ बराबर खर्च भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म सरकारले उठाएको आन्तरिक ऋण एक खर्ब ५९ अर्ब ५० करोड रुपैयाँ र बाह्य ऋण ७० अर्ब ७४ करोड रुपैयाँ बराबर रहेको थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर रहेको छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्या सँग तुलना गर्दा प्रति व्यक्ति ऋण ७३ हजार आठ सय ६० रुपैयाँ बराबर एक नेपालीको थाप्लोमा पर्न जान्छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस