आज:  | Fri, 26, Apr, 2024

भारतको वथनाहादेखि नेपालको विराटनगर–१८ बुधनगर सम्म कार्गो रेल सेवा आजदेखि

१८ जेष्ठ २०८०, बिहीबार १९:०० मा प्रकाशित ( ११ महिना अघि) ३८६ पाठक संख्या
नारी बाटिका


१८ जेठ विहिवार ।

भारतको कटिहार जिल्लाको वथनाहादेखि विराटनगर–१८ स्थित बुधनगर सम्म आजैदेखी कार्गो रेल सेवा सञ्चालनमा आएको छ । विभिन्न ध्वजापताकाले रंगीचंगी बनाइ सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योग कम्पनीहरुको कच्चा पदार्थ सामान बोकेर विराटनगर आइपुगेको हो ।

हिजोदेखी भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रूपमा नयाँ दिल्लीबाट हरियो झण्डा देखाएर उक्त रेल संन्चालनमा उद्घाटन गर्नु भएपछि वथनाहाबाट छुटेको रेल आठ किलो मिटर दूरीमा रहेको विराटनगर बुधनगर स्थित नेपाल कस्टम यार्डमा आइपुगेको थियो ।

वथानाहा देखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीको कस्टम यार्ड रेल मार्गमा कार्गो रेलसेवा सञ्चालन भएको हो । कार्गो रेल विराटनगर आएपछि सामान आयत नियाृत गर्न सहज हुने खुशीयालीमा उद्योगपति, व्यापारी एवं सर्व साधारणले स्वागत गरेका छन् ।

यसअघि भारतको वथनाहा सम्म उद्योग कम्पनीका कच्चा पदार्थ रेल मार्फत आउने गरेको र त्यहाँबाट मालवाहक सवारी साधन मार्फत उद्योगमा ल्याइने गरिएको थियो । कार्गो रेल सेवा सञ्चालनले भारत लगायत तेस्रो मुलुकबाट आएका कच्चा पदार्थ अब सोझै विराटनगरको एकीकृत भन्सार जाँच आइपुग्दा व्यापारीलाई सहज एवं ढुवानी भाडामा समेत खर्च कम लाग्ने भएको छ ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले उद्यमी व्यापारीको वर्षौं देखिको चाहना पूरा भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा कच्चा पदार्थको ढुवानी सस्तो भई उपभोक्ता समेतलाई राहत पुग्ने धारणा राख्नु भयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गो रेल सेवा सञ्चालनले प्रदेशको आर्थिक विकासमा सहयोग पुग्ने समेत बताउनु भयो ।

कार्गो रेल सेवा सरह आगामी दिनमा राज्यले यात्रु वाहक सेवा पनि सञ्चालन गर्नु पर्नेमा स्थानीयवासीको भनाइ रहेको छ । उक्त आयोजनाको निर्माण लागत भारु तीन अर्ब ७३ करोड रहेको छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेल निर्माण भएको हो ।

भारतको वथनाहादेखि मोरङको कटहरी गाउँपालिकाको महेशपुर सम्म १८ किलोमिटर रेल सञ्चालनका लागि १२ वर्ष अगाडि सम्झौता भई काम सुरु भए पनि जग्गा मुआब्जाको विवादले बाँकी खण्डमा काम रोकिएको छ । अहिले आठ किलोमिटर रेल मार्गमा मात्र सेवा सञ्चालनमा आएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस