आज:  | Tue, 14, May, 2024

भारतको केदारनाथको पहिरोमा परी १० जना नेपाली बेपत्ता

१९ श्रावण २०८०, शुक्रबार १६:४२ मा प्रकाशित ( ९ महिना अघि) ६७३ पाठक संख्या
नारी बाटिका


१९ साउन ।

अविरल वर्षाका कारण भारतको उत्तराखण्डमा गएको पहिरोमा परी उक्त स्थानका होटल बगाउँदा कर्णालीका १० जना नेपाली बेपत्ता भएका छन्। केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयाग भन्ने स्थानमा पहिरोले होटल बगाउँदा नेपालको जुम्ला र हुम्ला जिल्लाका १० जना नेपाली बेपत्ता भएका हुन् ।

यस घटनाको खबर प्रशारण भारतीय मिडिया जागरणले उल्लेख गरेको हो । उक्त पहिरोमा परी बेपत्ता हुनेहरुमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको बताइएको छ। यसैगरी हुम्ला जिल्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका थिए ।

उनको होटलमा खाना खान गएका वेला पहिरोले होटल बगाएको भारतिय जागरण मिडियाले जनाएको छ । पहिरोमा परी होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर समेत रहेका छन्।

उनीहरूको थर तथा विस्तृत बिवरण भने खुल्न बाँकी रहेको जनाईएको छ । वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्। बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको खबरमा उल्लेख छ तर उनीहरू नेपालको कुन ठाउँका हुन् भन्ने एकिन खुलेको छैन।

बेपत्ता हुनेमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी रहेका छन् ।

पहिरोबाट उक्त होटल मन्दाकिनी नदीमा खसेको खवरमा उल्लेख गरिएको छ । बेपत्ता भएका सबैको खोजी कार्य भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ। यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको जागरण मिडियाले उल्लेख गरेको छ।

तस्वीर : अनलाईन बाट साभार गरिएको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस