आज:  | Tue, 21, Jan, 2025

ललिता निवास जग्गा हिनामिना प्रकरणमा आज अदालतमा अभियोजन दर्ता हुने

१० भाद्र २०८०, आईतवार ०७:४७ मा प्रकाशित ( १ साल अघि) २७४८ पटक पढिएको
नारी बाटिका


काठमाडौं,१० भदौ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा आज जिल्ला अदालत काठमाडौंमा अभियोजन दर्ता हुने भएको छ । सरकारी वकीलको कार्यालय काठमाडौँले ललिता निवास जग्गा हिनामिना प्रकरणमा आज आइतबार अदालतमा अभियोजन दर्ता गर्ने भएको हो।

कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले शुक्रबार नै मुद्दा दर्ताको तयारी गरे पनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएको भन्दै आज आइतबार काठमाडौँ जिल्ला अदालतमा अभियोजन दर्ता गरिने जानकारी दिएका थिए ।

वालुटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरी व्यक्तिका नाममा लगेको विषयमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले २८६ जनालाई प्रतिवादी बनाउनु पर्ने राय सहितको प्रतिवेदन सरकारी वकीललाई बुझाएको थियो ।

सीआइबीको प्रतिवेदनमा चार पूर्व मन्त्री, ६ सचिव समेतलाई प्रतिवादी बनाएकोले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र पूर्व मुख्य सचिव लीलामणि पौडेलसँग भने सामान्य बयान लिएको र उनीहरुलाई उन्मुक्ति दिएकोले यतिबेला चौतर्फी रुपमा आरोप लागिरहेको छ।

बालुवाटारको ललिता निवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा किर्ते कागजपत्र तयार गरी दलालीहरुले योजनाबद्ध र सङ्गठित रूपमा पटक पटक गरी व्यक्तिको नाममा सारिएको निष्कर्ष सिआइबीले पुष्टि गरेको छ। सोही आधारमा सीआइबीले सङ्गठित अपराध तथा किर्ते मुद्दा चलाउन सिफारिस गरेको हो।

यस प्रकरणमा हालसम्म १८ जना प्रतिवादी मात्रै हिरासतमा छन् । त्यस्तै ६ जनालाई भने हिरासत भन्दा बाहिर राखेर अनुसन्धान भइरहेको जनाइएको छ । विसं २०४९ देखि २०६९ सम्ममा पटक पटकको मितिमा उक्त स्थानको सरकारी जग्गा हिनामिना भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस