आज:  | Sat, 27, Apr, 2024

अशान्त धरान, सामाजिक सद्भाव भड्किने जोखिम ,नेपालीबिचमा फाटो ल्याई धमिलो पानीमा माछा मार्ने खेल

१० भाद्र २०८०, आईतवार ०९:०५ मा प्रकाशित ( ८ महिना अघि) ६२३ पाठक संख्या
नारी बाटिका


धरान, १० भदौ ।
नारी वाटिका संवाददाता

केही दिनदेखी अशान्त धरानमा सामाजिक सद्भाव भड्किन नदिन सबैको सुझाब रहेको छ । केही दिनयता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषय प्रति चिन्ता प्रकट गर्दै कांग्रेस,रास्वपा,लगायतका राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न अपिल गरिरहेका छन् ।

यस्तै नेपाली काँग्रेसका सभापती शेर व.देउवाले अपिल गर्नु भएको छ । दिनप्रतिदिन भड्कँदै गईरहेको आन्दोलनले जोखिम कायमै रहेकोले सार्वजनिक अपिल गर्नु भएको हो । सामाजिक, धार्मिक, राजनीतिक समग्र सद्भावका लागि ‘परापूर्व कालदेखि विभिन्न जात(जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौँ, राष्ट्रनिर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौँ,’ बताउनु भएको छ ।

साथै कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको अपिलमा भनिएको छ,। ‘नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ(आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन ।’

नेपालीको भावना र चाहना विपरीत धार्मिक(सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने भन्दै कांग्रेसले यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने चिन्ता प्रकट गरेको हो ।

‘यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो,’ अपिलमा अगाडि भनिएको छ ।

यसैगरी सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बन्नको लागी सामाजिक अगुवाहरु लगायका दलका नेताहरुले अनुरोध ब्यक्त गरिरहनु भएको छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नु भएको छ । शनिबार पार्टीको टोखा नगरपालिकाको भेलालाई सम्बोधन गर्दै उहाँले जातजाति र समुदायसित होइन बेथिति र भ्रष्टाचार विरुद्ध लड्नु पर्ने बताउनु भयो ।

‘जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछुु,’ उहाँले भन्नु भयो, ‘हाम्रो दुष्मनी गरिबी, अशिक्षा र बेरोजगारी सित हो ।’ कानुनले वर्जित गरेको गतिविधि नगर्न उहाँले सम्वन्धित समुदायलाई सुझाव दिनु भयो ।

यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा मान्छेलाई पैसाले किनेर आफ्नो सनातन धर्म परिवर्तन गराउने खेती भइरहेको दाबी गर्नु भएको छ । नेकपा एसको पार्टी स्थापनाको दोस्रो वर्ष पुगेको अवसरमा केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा बोल्दै नेता खनालले पैसाले किनेर मान्छेको धर्म परिवर्तन गराइएको दाबी गर्नु भयो ।

साम्प्रदायिक सद्भाव भड्काउन विभिन्न शक्ति लागेको उहाँको भनाइ थियो । ‘धरानमा यतिबेला निषेधाज्ञा छ, बिर्तामोड भन्दा यता दशौँ हजारको जुलुस आएको छ । यहाँ साम्प्रदायिक सद्भाव भड्काउन विभिन्न शक्ति लागेका छन्,’ उहाँले भन्नु भयो, ‘कहीँ गाई काटियो रे, कहीँ सुँगुर काटियो रे, कहीँ बाख्रा काटियो रे । यो किन हुन्छ ? भनेर मान्छे सडकमा आए । विदेशी डलरको खेती गरेर सिधासाधा नागरिकलाई अर्बौं रुपैयाँ बाँडेर यहाँ क्रिश्चियन बनाइँदै छ रे । किनेर धर्म परिवर्तन गराइँदै छ ।’

हुन पनि पछिल्लो समयमा हाम्रो समाजमा आफ्नो देशलाई परिचित गराउने मुख्य पहिचान के हो भन्ने बारेमा न त कुनै राजनैतिक दलहरुका नेताले सोचे , न त नेपाली समाजका अगुवाहरु नै सोचे ? हरेक बिकसित देशहरु एउटा धर्मले चिनिएको छ । तर नेपालीको पहिचान गराईरहेका भाषा,भेषभुषा,धर्म संस्कार,प्राकृतिक स्रोत भएको नेपालीको बहु भाषा,बहु जातिय सद्भावको दोहन गरेर आफ्नो राजनितिक स्वार्थ पुरा गरिरहेका दलका नेताको भुमिकाले आज नेपाल र नेपालीबिचमा फाटो ल्याई धमिलो पानीमा माछा मार्ने खेल भैरहेको स्पष्ट हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस