आज:  | Thu, 02, May, 2024

सहकारीमा भ्रष्टाचार गरी रकम ठगी प्रकरणमा उपाध्यक्ष सहित पाँचजना पक्राउ

१३ कार्तिक २०८०, सोमबार ०८:५० मा प्रकाशित ( ६ महिना अघि) ४५० पाठक संख्या
नारी बाटिका


खोटाङ, १३ कात्तिक ।

सहकारीमा रकम घोटला गरेको प्रकरणमा सहकारीका उपाध्यक्ष सहित पाँचजना पक्राउ परेका छन् ।खोटाङमा संन्चालक सहितको मिलेमतोमा बचत कर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईं सहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो।

खोटाङ जिल्लामा संन्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आवद्ध चार हजार पाँच सय बचत कर्ताको रकम भ्रष्ट्रचार गर्ने सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवार सहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरी प्रहरीलेले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा उक्त सहकारीका उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

उक्त सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा प्रहरीले छलफलका लागि भनेर कार्यालयमा बोलाएर षडयन्त्र पूर्वक सञ्चालक समितिका पदाधिकारीलाई पक्राउ गरेको सञ्चालक समितिले आरोप लगाएका छन्।

‘सहकारीबाट ऋण लिई समयमा ऋण नतिरी संस्थालाई ठगी गर्न खोज्ने ऋणीहरुविरुद्ध हामीले किटानी जाहेरी दिएका छौँ। उनीहरु नै हुन् दोषी। अहिले पक्राउ परेका कोही पनि दोषी छैनन्। सञ्चालक समितिका सचिव मनोज राई आफैँले ऋणीहरु विरुद्ध गत माघ ६ गते किटानी जाहेरी दिएका थिए । आइतबार सचिबलाई नै प्रहरीले पक्राउ गरेपछि कसरी अनुसन्धान प्रक्रिया अगाडि बढ्छरु’, नाम उल्लेख नगर्ने सर्तमा एक पूर्व सदस्य ले भने, निष्पक्ष छानबिन हुन जरुरी छ भनेका छन् । समितीका सदस्यहरुले भने बिना कारण कसैलाई दुःख दिन पाइँदैन। यदी सहकारीमा रकम घोटला भएको ठहरिएमा दोषीले उन्मुक्ति पाउनु हुँदैन।’

साथै सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका सबै पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिएका छन् ।

बचतकर्ताले आफूहरुले जम्मा गरेको बचत संन्चालक समिती,लेखासुपरिवेक्षण समिती तथा कर्मचाहरु सहित मिली हिनामिना गर्ने गरेको साथै सदस्यहरुले पनि ऋण लगी नतिरेर सहकारीलाई डुबाएको भन्दै विसं २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्य सहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए। बचतकर्ताले दिएको जाहेरीको आधारमा जिल्लाबाट खटिएर गएको प्रहरी टोलीले अध्यक्ष जोशीका भाइ सुनिल जोशी र उनकी श्रीमती रविना श्रेष्ठ (जोशी)लाई यही असोज १३ गते तथा प्रबन्धक(ब्यवस्थापक) रुकु जोशीलाई असोज १७ गते काठमाडौँबाट पक्राउ गरेको थियो।

१ महिना अगाडी काठमाडौँबाट पक्राउ परेका तीनैजना आरोपीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ। पक्राउ परेका सुनिल श्री एयरलायन्सका क्याप्टेन हुन्।

बचत अपचलनमा मुख्य दोषी ठानिएका क्याप्टेन सुनिल श्री लगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने जनाउँदै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन। अध्यक्ष लगायतहरुको परिवारले रु एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ।

सहकारीको नाममा खरिद गरिएको भनिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको समेत पाइएको हो । बचतकर्ताका रकमले खरिद गरिएको जग्गा आफ्नो नाममा गर्ने व्यक्तिको पहिचान भएर पनि प्रहरीले अहिलेसम्म उनीहरुलाई पक्राउ नगरेको सञ्चालक समितिका पूर्वसदस्य र शेयर सदस्यले बताएका छन् ।

विसं २०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधन पछि मात्र खुलेको थियो। जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प रहेको छ। सहकारीमा एकैजनाले ४५ लाखसम्म बचत गरेका छन् भने उक्त सहकारीबाट ७४ जनाले ऋणी लिएका छन् । ऋणीहरुले रु,३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ। सहकारीको जग्गाबाहेक साँवा,ब्याज सहित करिब रु दश करोड ऋण लगानी रहेको जनाइएको छ।

बचतकर्तालाई साँवा,ब्याज सहित करिब रु सात करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतवेदनमा हिसाब देखिएको छ । सहकारीका तत्कालीन अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन भएको सञ्चालक समितिका अन्य पदाधिकारीले बताउँदै आएका छन् ।

बचतकर्ताले आफूहरुको बचत डुबाउने दोषीलाई कारबाही र डुबेको बचत फिर्ता गर्न माग गर्दै गत असोज १९ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत खोटाङमा धर्ना दिएका थिए। सहकारीको बचत अपचलनमा मुछिएका आठ जनामध्ये तीनजना पक्राउ परेपछि दिक्तेल बजारमा विरोध प्रदर्शन गर्दै दोषीलाई कानुनी कारबाही गर्न तथा आफ्नो बचत सुरक्षितसाथ फिर्ता दिलाइदिन माग गर्दै सहकारी पिडितहरुले धर्ना दिएका हुन्।

पक्राउ परेका दोषीलाई उन्मुक्ति नदिन, अन्य दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र डुबेको बचत रकमको साँवा,ब्याज फिर्ता गर्नका लागि प्रदर्शन गरिएको बचतकर्ताले बताएका छन्। पक्राउ परेका व्यक्तिलाई अदालतले तारिखमा छाड्न लागेको सूचना आएकाले उनीहरुलाई कानुनी कारबाही तथा आफूहरुको बचत फिर्ताका लागि दबाब मूलक प्रदर्शन गरिएको बचतकर्ताहरु बताउँछन् ।

जिल्लामा सञ्चालित अन्य केही सहकारी संस्थाले पनि आफूहरुको बचत फिर्ता नदिएको बचतकर्ताले गुनासो गर्न थालेका छन्। दश स्थानीय तह रहेको जिल्लामा एक सय ८१ सहकारी संस्था सञ्चालनमा छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस