आज:  | Sat, 27, Apr, 2024

धनतेरसको पूजाविधि, यसको,पौराणिक कथा र यस वर्षको शुभ मुहूर्त

२४ कार्तिक २०८०, शुक्रबार ०८:१८ मा प्रकाशित ( ५ महिना अघि) ३६७ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ,२४ कार्तिक ।

प्रत्येक वर्ष आजकै तिथीलाई धनतेरसको दिनलाई महत्वको साथ मनाइँदै छ । आजको दिन नेपाली संस्कार र संस्कृती मान्ने नेपालीहरुले सुन,चाँदी तामा आदि धातुको नयाँ भाँडाकुँडा किन्दा लक्ष्मीले बास गर्ने विश्वास चलिआएको छ

धर्मशाश्रमा उल्लेख भए अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी अथवा काग तिहारका दिन धनवन्तरि त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस भनिने यस दिन आयुर्वेदका प्रवद्र्धक धन्वन्तरि तथा धनका देवता कुबेरको जन्मोत्सवका रूपमा मनाउने गरिएको हो ।

आज धनतेरसका दिन नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनी घरमा राखेमा शुभ हुने धार्मिक विश्वास चलिआएको छ ।साथै हिन्दु धर्ममा विस्वास राख्ने व्यक्तिले आफ्नो आवश्यकता र कतिपयले विलासिताका चिजबिज खरिद गर्नका लागि वर्षभरि यही दिनको प्रतीक्षा गर्ने गर्दछन् ।

आजको तिथीको दिन यसरी नै रत्न आभूषण वा बहुमूल्यका गरगहना किनमेल गर्नुपर्छ भन्ने प्रचलन भए पनि यो प्रचलन कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण भेटिएको छैन भन्ने पनि पाइन्छ । तर, धन्वन्तरिको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ दिनको रुपमा लिन थालिएको हो भन्ने कथन छ । यस दिन कालो रङका सामान र कपडा किन्न नहुने धार्मिक मान्यता पनि छ ।

पौराणिक कथामा आधिारित धन्वन्तरिको जन्मवृत्तान्त देवता र असुरद्वारा गरिएको समुद्र मन्थनसँग सम्बद्ध रहेको छ । समुद्र मन्थनका क्रममा धन्वन्तरि भगवानको उत्पत्ति भएको थियो । उहाँ सर्वप्रथम आफ्ना हातमा अमृत भरिएको कलश लिएर प्रकट हुनु भएका थिए । त्यसैले उहाँको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरि’ पनि हो ।

उहाँलाई भगवान् विष्णुको अवतारको रुपमा पनि मानिन्छ । यस बाहेक नेपालीको परम्पराअनुसार धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई इंकित गरी एउटा दियो बाली घरको मूल दैलोमा राखिन्छ, उहाँलाई घरभित्र नपस्न र कसैलाई दुःखकष्ट नपु¥याउन अनुरोधका साथ पूजा गरिने धार्मिक विस्वाश रहेको छ ।
धार्मिक मान्यताले मनुष्यको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्दछ ।

प्रत्येक वर्ष तिहारको प्रारम्भमा भएको पहिलो दिनमै मनाइने धनतेरस पर्वसँग जोडिएको एउटा लोक कथा छ । जस अनुुसार एक पटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुनेछ भनेका थिए । उनको छोराको विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरा थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् ।

भर्खरै विबाह भएको आफ्ना पति शर्पले टोकेर मर्ने भन्ने चिन्ताले हिमालयकी बुहारीले विवाह भएको ठिक चार दिनका दिन उनले आफ्ना पतिको कोठा बाहिर घरका सबै गहना गुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफू स्वयं सँगै बसेर पतिलाई अनेकौं गीत, भजन र कथा सुनाउँदै पतिलाई निद्रा नआओस् भनेर भुलाउन थालिन् । रात धेरै वितेपछी यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्नको लागी त्यही ठाउँमा आइपुगे, तर गहनाको पहाडलाई तिनले नाघ्न सकेनन्, बल्लतल्ल सर्पका रूपमा यमराज त्यस गरगहनाको थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लाग्न थाल्यो र पहिला यमराजले थकाइ मेट्ने विचार गरे ।

यमराजले थकाइ बिसाउने क्रममा उनको कान भित्र राजकुमारीले गाएका मिठा–मिठा गीत र भजनको ध्वनि गुन्जिन थाल्यो । जुन गित र भजनको ध्वनि सुनेर उनी मन्त्रमुग्ध भए । त्यहिी गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो । भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनु पर्यो । यसरी राजकुमारीले आफ्नो पतिको जीवनरक्षा गरेकी हुन् । यसै घटनापछि मानिसले आफ्नो घरका सदस्यहरूको आयु, आरोग्य र सुख समृद्धिका निमित्त धन त्रयोदशीका दिन सध्याकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने प्रचलन रहेको धार्मिक मान्यता छ ।

आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्ति भन्दा महत्वपूर्ण वस्तुका रूपमा लिइन्छ, । त्यसैले धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पुजा उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ । पछिल्लो समयमा नेपाली समाजको आधुनिकीकरणसँगै धनतेरसका दिन सुनचाँदीका भाँडाकुँडा, सिक्काहरू, आभूषणका साथै मोटर गाडी लगायत अन्य विलासिताका वस्तु खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको छ । रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’ पर्वले आर्थिक लगानीको सुरक्षणसँग आफूलाई गाँसेको पनि पाईन्छ ।

अर्को तर्फबाट लिनु पर्दा आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको देखिन्छ, एकातिर उच्च र मध्यम वर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तु किनेर आनन्द लिन चाहन्छन् भने अर्कातिर विपन्न र निम्न वर्गका मानिस आफ्नो आवश्यकता र खाँचोका घरायसी सरसामान(वस्तु) खरीद गरी यस पर्वलाई मनाउने गर्दछन् ।

धनतेरससँग सम्बन्धित अर्को किंवदन्ती पनि कार्तिक कृष्ण त्रयोदशीका दिन भगवान विष्णुले देवताहरूको काममा बाधा पु(याएका कारण असुरहरूका गुरु शुक्राचार्यको एउटा आँखा फुटाइदिए । पौराणिक कथा अनुसार भगवान विष्णुले देवताहरूलाई राजा बलिको भयबाट मुक्त गर्न वामनको रूपमा अवतार लिनु भयो र राजा बलिको बलिदान स्थलमा पुग्नु भयो ।

यता शुक्राचार्य ऋषिले पनि भगवान विष्णुलाई वामनको रूपमा चिने र राजा बलिलाई वामनले मागेको कुनै पनि कुरा अस्वीकार गर्न आग्रह गर्दै भने–‘वामन वास्तवमा भगवान विष्णु हुन् । तिनीहरू देवतालाई सहयोग गर्न तपाईंबाट सबै कुरा खोस्न आएका छन् ।’बलिले शुक्राचार्यको यो कुरा सुनेनन् । वामनले कमण्डलुबाट पानी लिएर भगवानले मागेको तीन पाइला जमिन दान गर्ने प्रतिज्ञा गर्नु भयो ।

बलिलाई दान गर्नबाट रोक्न शुक्राचार्य सूक्ष्म रूप धारण गरी राजा बलिको कमण्डलुमा प्रवेश गरेका रहेछन् । जसका कारण कमण्डलुबाट पानी निस्कने बाटो बन्द भएको थियो । वामनले शुक्राचार्यको यो चलाखीको चाल बुझे । साथै भगवान वामनले कुशलाई आफ्नो हातमा यसरी राखेका थिए कि शुक्राचार्यको एउटा आँखा फुट्यो । शुक्राचार्य हतारमा कमण्डलुबाट बाहिर निस्के ।

बलिले प्रतिज्ञा लिए र तीन कदम जमिन दान दिए । यसपछि भगवान वामनले एक खुट्टाले सम्पूर्ण पृथ्वी र अर्को खुट्टाले अन्तरिक्ष नाप्नु भयो । तेस्रो पाइला चाल्ने ठाउँ नभएपछि बलिले भगवान वामनको पाउमा शिर राखे । जसबाट उनले सबै गुमाए । यसरी देवताहरूले बलिको भयबाट मुक्ति पाएको अवसर पारेर आजको दिनलाई धनतेरसको शुभ पर्व पनि मनाईने गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस