आज:  | Sat, 18, May, 2024

दुई नेपालीलाई म्यान्मा पुर्‍याएर बन्धक बनाउने एक युवती पक्राउ

२५ मंसिर २०८०, सोमबार १७:१४ मा प्रकाशित ( ५ महिना अघि) ५१० पाठक संख्या
नारी बाटिका


काठमाडौं २५ मंसिर ।

दुई नेपालीलाई प्रलोभनमा पारी म्यान्मा पुर्‍याएर  बन्धक बनाउने एक युवती पक्राउ परेकी छन् । वैदेशिक रोजगारीको प्रलोभनमा पारी म्यान्मा पुर्याएर बन्धक बनाई स्क्याममा लगाउने गिरोहका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।

वैदेशिक रोजगारीमा राम्रो काम दिलाईदिने प्रलोभनमा पारी थाइल्याण्डको एक कम्पनीमा कम्प्युटर टाइपिङको काम दिलाई दिने भन्दै दुई जनालाई म्यानमार पुर्याइ म्यावडीस्थित चिनियाँ कम्पनीमा बन्धक बनाउने एक युवती पक्राउ परेकी छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले गोरखा धार्चे गाउँपालिका –४ की २७ वर्षीया कविता गुरुङलाई पक्राउ गरेको प्रहरी ब्यूरोले जानकारी दिएको छ । गिरोह टोली मध्यकी गुरुङलाई आइतबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गुरुङले पीडितहरुबाट प्रतिव्यक्ति २ लाख ६० हजार रुपैंया लिएर थाइल्याण्ड भनि म्यानमार पुर्याएकी थिईन् । उनले पीडितहरुलाई मासिक एक हजार डलर तलब पाउने, खाने बस्ने व्यवस्था कम्पनीले नै गर्ने भनेर झुक्याएको अनुसन्धानका क्रममा खुल्न आएको हो ।

ब्युरोका अनुसार गुरुङले पीडितहरुलाई काठमाडौंस्थित आफ्नै घरमा बोलाएर अंग्रेजी टाइपिङको अवस्था समेत चेक गरेको र परीक्षामा पास भएको भन्दै पीडितहरुबाट पैसा ठगेकी थिइन्।

उनीहरूलाई म्यान्मा पुर्याई सकेपछी सामाजिक सञ्जाल मार्फत अमेरिकी, युरोपियन नागरिकलाई के कसरी ट्रयापमा पार्न सकिन्छरु र अनलाइन मार्फत बिटक्वाइन लगायत भर्चुअल करेन्सी लगानीमा आकर्षित गर्न सकिन्छ भनेर तालिम समेत दिईएको थियो ।

यसैगरी कम्पनीले पीडितहरुलाई निश्चित अवधिमा अमेरिकी नागरिकलाई भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नु पर्ने गरि टार्गेट दिएको म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीले २० घण्टासम्म काममा लगाउने, टार्गेट पूरा नभए कुटपिट गर्ने, करेन्ट लगाउने जस्ता यातना दिने गरेका ब्यूरोले जनाएको छ।

उनीहरुर्ले कम्पनीभित्रै बन्धक बनाएर अनलाइन स्क्यामिङको काममा साइबर स्लेभको रुपमा श्रम शोषण गरेपछि रोजगारीका लागि गएका दुई पीडितहरु ९ महिनापछि उल्टै कम्पनीलाई ८ लाख रूपैयाँ बुझाएर नेपाल फर्किएका हुन् ।

अघिल्लो आइतबार पनि ब्युरोको टोलीले सोही प्रकृतिको घटनामा संलग्न भएका काठमाडौं बुढानीलकण्ठका बद्ध लामालाई पक्राउ गरेको थियो । साथै यस घटनामा संलग्न अन्य व्यक्तिहरू पनि रहेकोले उनीहरूको खोजीकार्य तीब्र पारेको ब्यूरोले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%२%

प्रतिक्रिया दिनुहोस