
नारी बाटिका
काठमाडौँ ३ माघ ।
बिहिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) युगाण्डा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल ‘ असंलग्न आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल सहितको नेतृत्व गर्दै भोलि (माघ ४ मा) युगान्डा गणतन्त्र प्रस्थान गर्न लाग्नु भएको हो।
प्रधानमन्त्री भोलि बिहान २ः१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यही माघ ५ गते देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा शिखर सम्मेलन हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्ने कार्यसुचि रहेको छ । त्यसै दिन प्रधानमन्त्री दाहाल युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुने जनाईएकोछ ।
प्रधानमन्त्री दाहालले शिखर सम्मेलनकै क्रममा सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। यसअघि बुधबार र बिहीबार बस्ने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री एम्पी साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसक्नु भएको छ। मन्त्रीस्तरिय बैठक अघि माघ १ र २ गते वरिष्ठ अधिकारीहरूको बैठक बसेको थियो ।
शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८ औँ शिखर सम्मेलनको निर्णय कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । यो स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आईरहेकोछ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीति मध्यको आधारभूत सिद्धान्त हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे स्वदेश फर्कनेछन्।
१९ औँ शिखर सम्मेलनपछि तेस्रो दक्षिण शिखर सम्मेलन माघ ७ देखि ८ गतेसम्म कम्पालामा हुँदैछ। दक्षिण शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव लम्सालले गर्ने भएकी छिन्।







प्रतिक्रिया दिनुहोस