आज:  | Sat, 04, May, 2024

भिजिट भिसामा देश बाहिर जाने नेपालीको लागी नयाँ नियम जारी,साथमा १३ बुँदे कार्यविधि पनि

९ माघ २०८०, मंगलवार १९:०१ मा प्रकाशित ( ३ महिना अघि) ४९८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ९ माघ ।

गृह्र मन्त्रालयद्वारा भिजिट भिसामा देश बाहिर जाने नेपालीको लागी नयाँ कार्यविधि जारी गरेको छ । विभिन्न माध्यमबाट भिजिट भिसामा विदेश गएका नेपालीले चरम ठगी र सास्ती बेहोर्नु परेको भन्दै आम गुनासो आउन थालेपछि त्यसको रोकथामको लागी कार्यविधि नै बनाएर नियन्त्रण गर्न लागिएको हो।

गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपालीहरुका लागि नयाँ कार्यविधि जारी गरेको छ। जस अनुसार आज मन्त्रालयले नागरिकका लागि १३ बुँदे यात्रा परामर्श पनि जारी गरेको छ। विगत २०७८ फागुन २५ मा जारी भएको कार्यविधिलाई भने निष्क्रिय बनाईएको छ। यो जानकारी ट्राभल एड्भाइजरीुका रूपमा श्रम तथा रोजगार मन्त्रालय मार्फत सबै स्थानीय तहमा पठाइने भएको छ।

नयाँ जारी भएको कार्यविधी अनुसार यस्तो छ नागरिकका लागि जारी १३ बुँदे यात्रा परामर्श सूचना

१.भिसा(Visit Visa) उक्त मुलुकमा रहेका आफन्तलाई भेटन जाने प्रयोजनका लागि सम्बन्धित मुलुकले दिएको प्रवेश अनुमति मात्र हो भने पर्यटक भिसा(Tourist Visa)आफ्नो वा प्रायोजकको खर्चमा उक्त देशमा घुम्न जानका लागि सम्बन्धित देशले उपलब्ध गराएको प्रवेश अनुमति मात्र हो।

भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी हो । यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुन अनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नु पर्ने हुन्छ। त्यसैले, भिजिट भिसा वा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकले आफन्त भेटने र घुम्ने लगायत भिसाको उद्देश्य अनुसारका काम मात्र गर्नु पर्दछ । साथै भिसाको अवधिभित्रै स्वदेश फर्कनु पर्नेछ ।

भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनको लागि सेटिङको नाममा बिचौलियाहरुले रकम माग गरेतापनि दिनु पदैन ।

२. भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरुले नक्कली कागजात पेश गर्ने, झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरित एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकसम्म लगी अलपत्र पार्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरुबाट जोखिममा पर्न सक्ने भएकोले व्यक्ति स्वयं नै जिम्मेवार हुने हुँदा यस विषयमा भ्रमण गर्ने मुलुकको पूर्ण जानकारी लिई आफ्नो भ्रमणको उद्देश्य अनुरुप मात्र कार्य गरी आफूलाई पूर्ण रुपमा सुरक्षित राख्न थप सजगता अपनाउनु पर्दछ।

३. श्रम गन्तव्य मुलुकहरु कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराईन जस्ता देशहरुमा विचौलियाहरुको प्रभावमा महिलाहरुलाई भिजिट वा पर्यटक भिसामा पुगी वर्किङ भिसा (Working Visa) मा परिणत गराउने र त्यस्तो कार्यबाट महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगार दातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट बञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकोले काम गर्ने मनसायले विदेश जाँदै हुनुहुन्छ भने भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसा (Working Visa) मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्नुहोस्।

४. विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका केही नेपाली यात्रीहरु उल्लिखित मितिमा फर्कने गरेको नपाइएकोले असामान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनु होला। अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वस्घोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ। विदेश प्रस्थान गर्नुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुन सम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्नुहोस्।

५. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सूचीकृत भएका विश्वविद्यालयहरुमा भर्ना भएर विदेश जाने र सम्बन्धित विश्वविद्यालयहरुमा नपढी गलत ढङ्गबाट काम गर्दा समस्या आउन सक्ने एवं पछिल्ला दिनहरुमा अध्ययन भिसा (Study Visa) मा रहेर पनि काम गर्न एवं पैसा कमाउन सकिन्छ भनेर विभिन्न विचौलियाहरु मार्फत विदेशी विश्वविद्यालयहरुमा भर्ना भई काम गर्ने मनासायले भ्रमण गर्दै हुनुहुन्छ भने काम गर्ने र पढ्ने विषय अलग/अलग भएकोले यसमा थप सतर्कता अपनाउनु होस्।

६. विदेश यात्रा गर्दै हुनुहुन्छ भने नेपालको विमानस्थलहरुबाट मात्र यात्रा गर्नुहोस् । भारत वा अन्य तेश्रो मुलुकको विमानस्थल भएर अन्य मुलुकमा यात्रा गर्दै हुनुहुन्छ भने नेपाली राजदूतावासबाट जारी हुने No Objection Certification (NOC)  लिएर मात्र यात्रा गर्ने तथा महिलाहरुको हकमा भारतका विमानस्थल भएर तेश्रो मुलुक यात्रा गर्दै हुनुहुन्छ भने थप सजगता एवम् सावधानी अपनाउनु होस्।

७. तपाईंलाई श्रम स्वीकृति लिएर विदेशमा पठाउने भनी आश्वासनसहित रकम माग गरेमा सो रकम बुझाउनु पूर्व सो इजाजत पत्रवाला संस्था (Manpower Company) को आधिकारिकताको कागजात माग गर्नु होला । शैक्षिक परामर्शदाता(Education Consultancy),  ट्राभल्स एजेन्सी वा कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाइ दिन्छु भनी आश्वासन दिई रकम मागेमा रकम नबुझाउनु होला। आफू ठगीमा पर्दैछु भन्ने लागेमा सोको जानकारी वैदेशिक रोजगार विभाग वा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको टेलिफोन नं। १०० मा जानकारी दिनुहोस्।

८० वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त संस्था  (Manpower Company)  लाई नेपाल सरकारले तोकेको न्यूनतम रकम मात्र बुझाई सोको रसिद लिन नभुल्नुहोला । प्रचलित कानुनमा यस सम्बन्धी कार्य गर्ने एजेन्टको व्यवस्था नभएको हुँदा कसैले म एजेन्ट हुँ, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी झुटा आश्वासन दिएमा विश्वास नगर्नुहोस् एवं एजेन्टलाई कुनै पनि हालतमा रकम नबुझाउनु होस्।

९. वैदेशिक रोगजारीमा पठाउन इजाजत प्राप्त संस्थाले भिजिट वा पर्यटक भिसामा पठाउन खोजेमा सो सम्बन्धमा गोप्य सूचना दिनको लागि गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग वा अध्यागमन विभागमा तुरुन्त सम्पर्क गर्नु होस्।

१०. मित्रराष्ट्र भारत तथा वेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुनेबाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्ण रुपमा गैरकानुनी र राष्ट्रहित विपरित हो । यस्तो कार्य गर्ने व्यक्तिहरुलाई उद्धार गर्नसमेत कठिन हुने भएकाले कुनै पनि अवस्थामा यस्तो कार्य नगर्नु नगराउनुहोस्।

११. वैदेशिक रोजगारीको सिलसिलामा वा भिजिट भिसामा ठगीमा पर्नु भएमा वा पर्न लागेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरु वा वैदेशिक रोजगार विभागमा तुरुन्त उजुरी गर्नुहोला । तपाईं विदेशमा रहेको बेलामा कुनै सहयोग आवश्यक परेमा उक्त देशमा रहेको नेपाली दूतावास वा नियोगमा समेत सम्पर्क गर्नु होस्।

१२. नेपालका सम्पूर्ण स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रहरुबाट द्विविधा रहेका विषयमा श्रम तथा वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा आवश्यक जानकारी लिनु होस्।

१३. वैदेशिक रोजगारीका सम्बन्धमा कुनै जिज्ञासा भएमा वा कुनै जानकारी लिनुपर्ने भएमा राहदानी बनाउँदाका बखतमै जिल्ला प्रशासन कार्यालयहरुमा रहेको Migration Resource Center (MRC) मा सम्पर्क राख्नुहोला। वैदेशिक रोजगारसम्बन्धी विषयमा कुनै समस्या भएमा वैदेशिक रोजगार वोर्डको सचिवालमा रहेको कल सेन्टरको पैसा नलाग्ने नं। ११४१ मा फोन वा श्रम कल सेन्टरको ईमेल [email protected] मा ईमेल गर्नु होस्।

यो भिजिट भिसामा भ्रमण अनुमति सम्बन्धि कार्यविधि

१. ६ महिनाको वैध अवधि भए‌को राहदानी।

२. गन्तव्य देशको प्रवेषाज्ञा (VISA) वा On Arrival Visa प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।

३. दुईतर्फी हवाई टिकट भएमा ।

४. भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र।

५. भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तिमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद) वा डेविट/ क्रेडिट कार्ड ।

६. संयुक्त अरब इमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्नेछ। स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार (Burden of Proof) सम्बन्धित व्यक्तिमा रहने छ। स्वघोषणाको ढाँचा विभागले निर्धारण गरे बमोजिम हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस