आज:  | Sat, 27, Jul, 2024

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ

१० माघ २०८०, बुधबार १३:११ मा प्रकाशित ( ६ महिना अघि) ५८१ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० माघ ।

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने एक महिलालाई मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जडीबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गर्दै आएकी आशा लामा भन्ने लालमाया तामाङ हुन्।

धनकुटा छथर जोरपाटी गाउँपालिका(१ घर भई दोलखा भीमेश्वर नगरपालिका ९ बस्ने ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङलाई सोमबार प्रहरीले जडीबुटीबाट पक्राउ गरेको छ । तामाङले नाबलिकाहरुलाई आर्थिक लाभ लिई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

जडीबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्ट हाउसमा नाबालिकाहरुलाई ललाई फकाई उनले यौन क्रियाकलामा लगाउँदै आएकी थिइन्। उक्त सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले लामालाई नियन्त्रणमा लिएको थियो।

उक्त गेष्टहाउसबाट प्रहरीले दुई जना बालिकाहरूको उद्दार पनि गरेको छ। तामाङले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको खुलेको छ ।

शुरूमा वेटरको काममा लगाउने र केहीसमयपछि ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको व्युरोले बताएको छ।

तामाङ उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थपको अनुमती लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत खोजी भइरहेको उक्त व्युरोले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस