आज:  | Sat, 27, Jul, 2024

बिहेको अघिल्लो दिन अर्नाको आक्रमणले बेहुलीको ज्यान लियो

२३ माघ २०८०, मंगलवार १९:३२ मा प्रकाशित ( ५ महिना अघि) ३९३ पाठक संख्या
नारी बाटिका


२३ माघ ।

विवाहका लागि सिँगारेर राखिएकी रञ्जु कुमारीको बेहुली बन्नै नपाई ज्यान गुमाउनु परेको छ । सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरी रञ्जु कुमारीको बिहेका लागि सबै तयारी गरिसकेका थिए यस्तै मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थिए ।

रन्जु कुमारीको सोमबार हुने बिहेका लागि आइतबारदेखि नै निम्तालुहरु आउन थलिसकेका थिए । छरछिमेकीहरु पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए । पाहुना तथा बेहुलापक्षका जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको तयारी भइसकेको थियो।

विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए तर गुलाबीको परिवारमा अकस्मात नसोचेको बज्रपात पर्न गयो । अहिले उनको परिवारमात्र नभएर गाउँ नै शोकमग्न छ। गुलाबीकी २१ वर्षीया छोरीलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाले आक्रमण गरी ज्यान लिएपछि गुलाबीको परिवारमा बज्रपात परेको हो।

अर्नाको आक्रमणबाट रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाको परिवार मुर्छित भएको छ। गुलाबी परिवार माछा मारेर जीविको पार्जन गर्दै आएका थिए । घरबाट करिब डेढ किलोमिटर पश्चिम कोसी किनारमा घाँस काट्न गएकी रञ्जुलाई आइतबार अर्नाले आक्रमण गरेको हो। सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीयले बताएका छन्।

घाइते भएर भुईँमा ढलेपछि पनि अर्नाले आक्रमण गरिरहेकाले रञ्जुको घटनास्थलमै निधन भएको थियो। बिहेको एक दिन अघि भएको यो दुःखद् घटनाका कारण रञ्जुको बेहुली बन्ने सपना पनि अधुरै रह्यो। पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ। आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउँदै आएको छ ।
रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस