आज:  | Sun, 19, May, 2024

विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर

४ फाल्गुन २०८०, शुक्रबार १३:०८ मा प्रकाशित ( ३ महिना अघि) २३६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ४फागुन।

विशेष अदालतले ललिता निवास जग्गा हिनामिना गरेको आरोपमा १२ जनालाई दोषी ठहर गरेको छ । बिहिबार विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको हो । साथै ललिता निवास जग्गा राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर समेत गरेको छ ।

सो जग्गा हिनामिना सम्बन्धी मुद्दामा ठहर भएका प्रतिवादीवाट बिगो र जरिवाना असुल हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनु भयो । अदालतले जग्गा जफतका लागि प्रतिवादी बनाएकाको हकमा जफत हुने निर्णय पनि गरेको हो ।

सो प्रकरणमा दोषी ठहर भएकाहरु रामकुमार सुवेदी, शोभाकान्त ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दोषी ठहर गरेको छ । त्यस्तै, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त र दीप बस्न्यात तथा सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर भएका ।

दोषी देखिएकाहरु कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनीलाई दोषी ठह¥याउँदै विशेष अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत गर्ने निर्णय गरेको छ ।

यस्तै छविराज पन्त र दीप बस्न्यात सहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिना गरेकोले रु नौ करोड ६५ लाख बिगो जफत हुने फैसला गरेको छ । अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको हो ।

उक्त प्रकरणमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमि सुधारमन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ । तत्कालीन सचिव दिनेशहरि अधिकारीलाई पनि बिहिबार अदालतले सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्ति नाउमा बनाएको उल्लेख गर्दै २०७६ माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उक्त प्रकरणमा अख्तियारले चार पूर्वमन्त्री र तीन पूर्वसचिव सहित एक सय ७५ जनालाई प्रतिवादी बनाएको थियो ।

अख्तियारले एक सय १० जनालाई अभियोगमा संलग्न भएको दाबी गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवासको जग्गा हिनामिना सम्बन्धी मुद्दामा ठहर भएका प्रतिवादीवाट बिगो र जरिवाना असुल हुने फैसला भएको जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%१%

प्रतिक्रिया दिनुहोस