आज:  | Tue, 25, Jun, 2024

भारतले नेपालमा गरिएको गुणस्तर जाँचको मान्यता नदिँदा नेपाली चियाको निर्यात रोक लगायो

८ बैशाख २०८१, शनिबार ०८:४२ मा प्रकाशित ( २ महिना अघि) ३०५ पाठक संख्या
नारी बाटिका


झापा, ८ वैशाख ।

भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान वहाना बनायर नेपाली चियाको निर्यातलाई रोक लगाएको छ । यसरी भारतले नेपालको चिया निर्यातमा रोक लगाएपछी उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । नेपालको पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया वैशाख ७ (िहजो)गते रोकेको हो ।

भारत तर्फ चिया निर्यातको अनुमति नपाएर रोकिएका ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिनुभयो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताउनु भयो ।

उक्त नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल भन्सार कार्यालयका समकक्षीसँग सुक्रबार नै भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताउनुभयो ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिनु भयो । तत्काल यसको समाधान नगरिए नेपाली चिया उद्योग सङ्कटमा पर्ने उहाँको भनाइ छ ।

भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको बताउनु भयो ।

“यसअघि एउटा कम्पनीले एउटा नमूनाको गुणस्तर जाँचपास गराएको ‘रिपोर्ट’ले १५ दिनसम्म चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो,” व्यवसायी अग्रवालले भन्नुभयो, “अहिले पानीटङ्कीको भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमूनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनु पर्ने अड्को थापेको छ ।”

पानीटङ्की भन्सारमा गोदामको सुविधा नभएकाले नेपालबाट चिया ‘लोड’ भएर गएका १७ वटा ट्रक खुला सडकमा अलपत्र परेको उहाँले बताउनु भयो । त्रिपालले छोपेर सडकमा अलपत्र अवस्थामा चिया राखिएको ट्रकमा राति चोरी हुनसक्ने जोखिम छ । अलपत्र ट्रकहरुमध्ये नेपाल चिया विकास निगमको ६ वटा ट्रक छन् भने अन्य सामान हिमालयन रेञ्जलगायत चिया उद्योगका हुन् ।

विगतदेखी नै सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन ।

भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायत स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएका छन् ।
रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस