आज:  | Sun, 12, Jan, 2025

दुर्गा प्रसाईंले ऋण तिर्नैपर्ने अदालतको आदेश,अस्पताल लिलामको खतरा

४ पुष २०८१, बिहीबार ०६:४६ मा प्रकाशित ( ३ हफ्ता अघि) ९३१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ पुस ।

बैंक तथा वित्तिय संस्थाबाट ऋण लिई तिर्न नपर्ने भन्दै ऋण लिई भागेका व्यक्तिहरुलाई उचाल्दै सडक आन्दोलन गर्ने दुर्गा प्रसाईं आफैले बैंकबाट लिएको ऋण तिर्न अदालतले आदेश गरेको छ । उच्च अदालत विराटनगरको इलाम इजलासले प्रसाईंको रिट खारेज गर्दै बैंकलाई ऋण असुलीको बाटो खुला गरिदिएको हो ।

दुर्गा प्रसाईंले कुमारी बैंक बिर्तामोड शाखासहितबाट लिएको ऋण तिर्न ताकेता भएपछि प्रसाईंका तर्फबाट वकिल टीकाराम अधिकारीले निषेधाज्ञाको रिट दायर गरेका थिए । तर, न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर श्रेष्ठको इजलासले उक्त रिट खारेज गरिदिएको हो ।

अदालतले दिएको यो आदेशसँगै बैंकले अब प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताल समेत लिलाम गर्न पाउने भएको छ । केही दिनमा आदेशको पूर्णपाठ सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो समय प्रसाईंले आफूले लिएको ऋण मिनाहा गर्नुपर्ने र नतिर्ने अभिव्यक्ति दिँदै, बैंक तथा वित्तिय संस्थाबाट ऋण लिई सम्पर्क विहिन भएका त्यस्ता ऋण नतिर्ने जमातहरु जम्मा गरी सडक आन्दोलन गर्दै आएका थिए । उनको यस्तो अभियानले ग्रामीण क्षेत्रमा काम गर्ने लघुवित्त संस्थाहरूलाई ऋण असुली गर्न कठिनाइ बनाउँदै आएको थियो ।

अब, उच्च अदालतको यो आदेशपछि प्रसाईंलाई ऋण तिर्नैपर्ने वाध्यता आएको छ। यदि उनले ऋण तिर्न आनकान गरे भनि,उनको अस्पताल पुर्वाञ्चल क्यान्सर अस्पताल लिलाम हुन सक्ने खतरा बढेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस