
नारी बाटिका
काठमाडौं २६ पुस ।
कैलालीको टीकापुरमा भएको जग्गा अनियमितता प्रकरणमा विशेष अदालत काठमाडौंले ८७ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार सो प्रकरणको फैसला गरेको हो । यस कसुरमा दोषी ठहर हुनेहरूमा टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष ६ महिना कैद फैसला गरेको छ ।
उक्त जग्गा किन्ने एक सय १७ जनामध्ये ८७ जनालाई दोषी ठहर गर्दै तीन महिना कैद र जरिवाना हुने फैसला गरेको छ । यससंगै उक्त जग्गा सबै नगर विकास समितिको नाममा हुने ठहर गरेको छ । उनीहरुमध्यका केशरबहादुर कुँवर र राजु आचार्यले भने सफाइ पाएका छन् ।
अदालतले दोषी ठहर गरेका सबैलाई डेढ महिना कैद र १३ लाख सात हजार रुपयाँका दरले जरिवाना हुने फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा टीकापुर नगर विकास समितिको जग्गा अनियमित तरिकाले व्यक्तिलाई बाँडेको आरोपमा मुद्दा दायर गरेको थियो ।
त्यसै गरी अदालतले टीकापुरस्थितको सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गराएकाहरूको जग्गा जफत हुने र नगर विकास समितिको हुने ठहर सहित फैसल्ला गरेको छ । उक्त जग्गा एवं तह–तह हक हस्तान्तरण भई हाल प्रतिवादी कायम गरिएका जो–जसको नाउँमा रहेको छ, उक्त जग्गा समेत जफत भई टीकापुर विकास समितिकै नाममा कायम हुने ठहर्छ,’ । उल्लेख गरिएको छ ।
साथै फैसलामा भनिएको छ, ‘जग्गा जफत भएका प्रतिवादीहरूले जग्गा खरिद गर्दा तिरे–बुझाएको रकम कानुन बमोजिम सम्बन्धित बिक्रीकर्तासँग दाबी गरी लिन पाउने नै हुँदा सोतर्फ थप केही बोलिरहनु परेन ।’
अख्तियारले नक्कली रसिद बनाई गलत ढङ्गले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नगर विकास समितिका अध्यक्ष, पदाधिकारी, कर्मचारी र जग्गा पाउने व्यक्तिहरु विरुद्ध मुद्दा दायर गरेको थियो ।








प्रतिक्रिया दिनुहोस