आज:  | Sat, 15, Feb, 2025

पछिल्लो ५ महिनामा मापसे सेवनबाट सवारी दुर्घटनाको प्रमख कारण बन्दै

२ माघ २०८१, बुधबार ०९:०७ मा प्रकाशित ( १ महिना अघि) २३५७ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ माघ ।

पछिल्लो समय मादक पदार्थ (मापसे) सेवनको कारणबाट सवारी दुर्घटना बढ्दै गएको छ । पहिले तीव्र गतिमा सवारी चलाउने, लापरबाही, लेन मिच्नेलगायत कारणले सवारी दुर्घटनमा परी मानिसले अकालमा ज्यान गुमाउने गरेका थिए । तर पछिल्लो समय चालकले मदिरा पिएर सवारीसाधन चलाउने गरेका कारण दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ । यसबाट स्वयं चालकको ज्यान जाने र यात्रुलाई पनि जोखिम बढाउने पाइएको हो ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मापसे र लापसे (लागुपदार्थ सेवन) सवारी दुर्घटनाको कारण बनिरहेको बताउनु हुन्छ । प्रवक्ता,अधिकारीका अनुसार पछिल्लो पाँच महिनाको तथ्याङ्क हेर्दा चालकले मापसे गरेर सवारीसाधन चलाएका कारण ६२१ वटा दुर्घटना भएका छन् । साथै सो दुर्घटनाबाट ४७ जनाको ज्यान गएको छ भने ८०७ जना घाइते भएका छन् ।

यसरी हुने दुर्घटनामध्य राजधानी काठमाडौं उपत्यकामै सबैभन्दा बढी हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा उपत्यकामा मात्रै चालकले मापसे गरी सवारीसाधन चलाउँदा ३७७ वटा गाडी दुर्घटनाबाट १६ जनाको मृत्यु र ३८९ घाइते भएका छन् ।

यसैगरी, कोशी प्रदेशमा यस्ता २८ वटा दुर्घटनामा सात जनाको मृत्यु र ५० घाइते भएका छन् । मधेश प्रदेशमा ८२ दुर्घटना हुँदा एकको मृत्यु, १५४ जना घाइते, बागमती प्रदेशमा २८ दुर्घटनामा तीनको मृत्यु ४४ घाइते, गण्डकी प्रदेशमा २३ दुर्घटना हुँदा तीनको मृत्यु र ३६ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेशमा ४३ दुर्घटना हुँदा १० को मृत्यु र ७० जना घाइते भएका छन् । कर्णालीमा १२ दुर्घटना हुँदा १४ जना घाइते र सुदूरपश्चिम प्रदेशमा २८ दुर्घटना हुँदा सातको मृत्यु र ५० जना घाइते भएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।

देशभरमा मापसेविरुद्ध जाँच र कारबाही अभियान जारी रहेको छ तर कतिपय अवस्थामा सार्वजनिक सवारीसाधनका साथै एम्बुलेन्स र स्कूल बसका चालकले समेत मापसे तथा लापसे गरेर सवारी चलाएका भेटिएका प्रवक्ता अधिकारीले जानकारी दिनु भयो ।

चालकले गर्ने लापर्भाइकै कारण धेरै यात्रुको ज्यान जोखिममा पर्ने गरेकाले यसको जानकारी पाउन साथ प्रहरीलाई जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताए ।

यस बारेमा सार्वजनिक रुपमै अनुरोध तथा प्रचारप्रसार गर्दा पनि मापसे गरेर सवारी चलाउने क्रम रोकिएको छैन । चालकको लापर्बाहीले स्वयं आफैँ र यात्रुहरूको पनि ज्यान जोखिममा गर्ने भएकाले सतर्कता अपनाउन प्रहरीको आग्रह छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस