
नारी बाटिका
–नेपालमा जन्मिन साथ प्रतिव्यक्ति ८६ हजार ९ सय ६० रुपियाँ ऋणको भार
–१० वर्षमा २० खर्ब ऋण बढ्यो
काठमाडौं ६ मा ।
देशको सार्वजनिक ऋण २५ खर्ब रुपियाँ नाघेको छ। चालू आर्थिक वर्षको छ महिनामा १ खर्ब २ अर्ब ३ करोड रुपियाँ ऋण थपिएसँगै कुल सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड १४ लाख रुपियाँ पुगेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सार्वजनिक ऋणको दायित्व ४४ दशमलव ४६ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जीडीपी ५७ खर्ब ५ अर्ब रुपियाँ अनुमान गरिएको छ। आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख पुगेको थियो।
सरकारले कुल २ खर्ब ४० अर्ब ८ करोड ७२ लाख रुपियाँ ऋण लिएकोमा १ खर्ब ८२ अर्ब ४० करोड १९ लाख रुपियाँ अर्थात् लक्ष्यको ४५ दशमलव २८ प्रतिशत ऋणको साँवा ब्याज भुक्तानी गरेको बताएको छ।
चालू आवमा ५ खर्ब ४७ अर्ब रुपियाँ ऋण लिने लक्ष्यमा आन्तरिक तर्फ ३ खर्ब ३० अर्ब र बाह्यतर्फ २ खर्ब १७ अर्ब रहेको छ। लक्ष्यमध्ये छ महिनामा ४३ दशमलव ८९ प्रतिशत ऋण प्राप्त गरिसकेको छ।
सरकारले लिएको ऋणमध्ये चालू आवमा आन्तरिकतर्फ १ खर्ब ८१ अर्ब ५ करोड ४२ लाख रुपियाँ अर्थात् लक्ष्यको ५४ दशमलव ८६ प्रतिशत र बाह्य तर्फ ५९ अर्ब ३ करोड ३० लाख रुपियाँ अर्थात् लक्ष्यको २७ दशमलव २० प्रतिशत रहेको छ। हाल सरकारको आन्तरिक ऋण १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख र बाह्य ऋण १३ खर्ब १ अर्ब ४१ करोड ७३ लाख रुपियाँ रहेको छ।
बाह्य ऋणमा यस वर्ष सरकारलाई ११ अर्ब ६१ करोड ५२ लाख रुपियाँ विनिमय नोक्सानीसमेत भएको छ। चालू आर्थिक वर्षमा सरकारले आन्तरिक ऋणको १ खर्ब २७ अर्ब २४ करोड १९ लाख रुपियाँ साँवा र २७ अर्ब ९५ करोड २९ लाख ब्याज भुक्तानी गरेको छ।
त्यस्तै बाह्य ऋणको साँवा २२ अर्ब ४२ करोड ८९ लाख रुपियाँ र ब्याज ४ अर्ब ७७ करोड ८२ लाख रुपियाँ भुक्तानी गरेको प्रतिवेदन छ।
सरकारले यस वर्ष २ खर्ब २० अर्ब ४५ करोड ७ लाख रुपियाँ साँवा तथा ब्याज भुक्तानी गर्नु पर्ने समयसमेत आइसकेको छ । जसमध्ये आन्तरिक तर्फ १ खर्ब ८१ अर्ब ७५ करोड ९५ लाख बाह्यतर्फ ३१ अर्ब ५१ करोड ७७ लाख तिर्नुपर्ने छ । जनगणना वि.सं. २०७८ सालको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना रहेको छ।
सो आधारमा प्रति व्यक्ति नेपालीले करिब ८६ हजार ९६० रुपियाँ ऋणको भार पर्ने भएको छ। पछिल्लो एक दशकमा नेपालको सार्वजनिक ऋण द्रुत गतिमा वृद्धि हुँदै झन्डै अहिले २० खर्बले वृद्धि भएको अवस्था छ।








प्रतिक्रिया दिनुहोस