काठमाडौँ १५ जेठ ।
नेपालमा निरङ्कुश राजतन्त्रका विरुद्ध गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल (कम्युनिष्ट) पार्टी (माओवादी)ले गरेको सशस्त्र तथा विद्रोहको क्रान्तिले देशमा उपलब्धिका रूपमा लिएको गणतन्त्रको अभ्यास गरेको आज १८ वर्ष पुरा भएको दिन।
तत्कालीन सात राजनीतिक दलको नेतृत्वमा आएको गणतन्त्रको विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखिको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ।
आजको जेठ १५ कै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको भन्ने आभाष थियो। गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सवको रुपमा लिएको दिन हो।
सोही ऐतिहासिक रुपमा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। यसै व्यवस्थामा जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था र विस्वासलाई टुट्न नदिनु नै देशमा शासन गरिरहेका मुख्यतया ठुला दलको जिम्मेवारी हुन आउँछ ।
यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिको छ।
सोही अनुरुप, आज अठारौँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी भव्यता साथ मनाइँदैछ। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरुको सहभागी हुनेछ।
मुलुकमा राजनितिक परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरणमा यस दिवस मनाईँदैछ। मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चिता गरी लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा धेरै नेपालीले जेलनेल र यातना सहन परेको थियो।
त्यसका लागि लोकतान्त्रिक पद्धतिबाट जनताको जीवनस्तर उकास्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने दायित्व रहेको अभिव्यक्ति भइरहेकै छ। देशलाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्दै आउने यस व्यवस्थालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प गरिनु पर्ने सन्देशमा उल्लेख गरिएको छ।
जनताले, मतादेश र संविधानप्रदत्त व्यवस्था अनुरुप एकढिक्का र एकीकृत भई अघि बढ्न नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्दछ। समाजका लागी सबै दल,तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत गर्ने मनोबल पैदा गराउन आवश्यक देखिएको छ।
देशका मुख्य र साना दलहरुसहितको एकै धारणा र मिलमिलापबाट नै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नु पर्ने दायित्व देखिएको छ ।
प्रतिक्रिया दिनुहोस