
नारी बाटिका
काठमाडौं २२ जेठ ।
लगानी बोर्डको बैठकले ८१ किलोमिटर लामो मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ।
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा, बालुवाटारमा आज बसेको बैठकले पर्वतको सेराफाँट वीरेठाँटी र नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.०४१ किलोमिटरको लामो केवलकार निर्माण गर्न स्वीकृत गरेको हो।
५७ अर्ब ६४ करोड ३७ लाख लागत रहेको उक्त परियोजना निर्माण,स्वामित्व, सञ्चालन र हस्तान्तरण ‘बूट’ (बिल्ड, ओन, अपरेट, ट्रान्सफर) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्तावसहित माग गरेको छ।
उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा बैठकले वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको थियो। साथै यस केबलकार निर्माण परियोजनाले स्थानीयस्तरमा ठूलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ।
बैठकले ७५० मेगावाट क्षमताको १६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल नामक संस्थासँग सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति गर्ने निर्णय गरेको छ।
त्यस्तै ४३।२ मेगावाटको छिलुङ खोला जलविद्युत आयोजना, २१६ मोगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना र ४४ मोगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी स्वीकृतिको निर्णय बोर्डबाट गरिएको छ।
साथै यसै बैठकले जनकपुरमा रिफाइन इडिबल आयल (खानेतेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरू अघि बढाउने पनि निर्णय गरेको छ।







प्रतिक्रिया दिनुहोस