आज:  | Tue, 01, Jul, 2025

पार्टीभित्र गुटबन्दी बढ्दै गएकोले डा.कोइरालाले आक्रोश व्यक्त

१७ असार २०८२, मंगलवार ०६:२० मा प्रकाशित ( ४ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -१७ असार ।

नेपाली कांग्रेसका वरिष्ट नेता डा.शेखर कोइरालाले पार्टीभित्र गुटबन्दी बढ्दै गएकोले आक्रोश व्यक्त गर्नु भएको छ । दिनानु दिन पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीले अनुशासन हीनता र नेताको जबाफदेहितामाथि प्रश्न उठेको भन्दै आक्रोश व्यक्त गर्नु भएको थियो ।

पार्टीको केन्द्रीय समिति बैठकमा खुलेरै असन्तुष्टि जनाउँदै डा.कोइरालाले पार्टी नेतृत्वप्रति कडा प्रश्न उठाउनु भएको हो। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी एकढिक्का बनाउन सकिने विश्वास व्यक्त गरे पनि उहाँले पार्टीभित्र गम्भीर गुटबन्दी,अनुशासनहीनता र निर्णय प्रक्रियामा पारदर्शिताको अभाव रहेको आरोप लगाउनु भएको छ ।

कोइरालाले १५औं महाधिवेशन निर्धारित समयमा नगर्नुका कारणमा स्पष्ट जवाफ माग्दै, गठबन्धनको अस्थिर नीति, सिट बाँडफाँडमा भएको अन्याय र अनुशासन समितिको कमजोरीप्रति गहिरो चिन्ता व्यक्त गर्नु भएको छ। यस्तै संविधान संशोधनको विषयमा गरिएको सात बुँदे सहमति कार्यान्वयन नभएको र नेतृत्वले जवाफदेहीता लिन नसकेको बताउनु भयो।

उहाँले अनुशासन समितिको संरचना पुनःगठनको माग गर्दै, समान प्रकृतिका घटनामा भेदभावपूर्ण कारबाही भएको धारणा राख्नु भयो। साथै, भातृ संस्थाहरु नेविसंघ, तरुण दल, महिला संघ र दलित संघको असन्तोष र नेतृत्वको असफलताले पार्टीलाई कमजोर बन्दै गएको बताउनु भयो।

आफ्नै समुहका नेताहरूले वि.पी. कोइरालाको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्नेप्रति आक्रोश व्यक्त गर्दै उहाँले अनुशासन कसका लागि भन्ने प्रश्न उठको बताउनु भयो । उहाँले निष्कर्षमा भने, “गुटबन्दी र भागबण्डाको राजनीति त्यागौं, पार्टी एकता कायम गरौं।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस