आज:  | Fri, 11, Jul, 2025

ज्येष्ठ नागरिक सुरक्षाको लागी प्रस्ताव कार्यान्वयन गर्न निर्देशन

२७ असार २०८२, शुक्रबार १७:१९ मा प्रकाशित ( १0 घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ २७ असार ।

राष्ट्रियसभाको बैठकले ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्न जोड दिएको छ । जेष्ठनागरिक विशेष व्यवस्था ’सम्बन्धी जरुरी सार्वजनिक महत्वमा प्रस्तावको विषयलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो।

आज बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभाका सदस्य सुमित्रा विसी प्रस्तावक र राष्ट्रियसभाका सदस्यहरु उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा) पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दै निर्देशन दिएको छ।

राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेखित विषय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले सभामा व्यक्त गरेको प्रतिबद्धतालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएकी हुन्।

यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सार्वजनिक महत्वको प्रस्तावमाथि जवाफ दिँदै ज्येष्ठ नागरिकको समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकका लागि महत्वूर्ण सवाललाई समेटेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई प्रभावकारी बनाई कार्यान्वयन गर्न जोड दिए।

उनले ज्येष्ठ नागरिकका विषयमा महिला मन्त्रालय मात्रै नभई, स्वास्थ्य, कानुन र अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले सबैले विषयको संवेदनशीलतालाई ख्याल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस