आज: २०८२ भाद्र १९, बिहिबार | Thu, 04, Sep, 2025

आज कुशे औंशी घर घरमा कुश भित्रयाएर यस पर्व मनाईदै

२०८२ भाद्र ७, शनिबार मा प्रकाशित ( १ हफ्ता अघि) १७०६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ ७ भदौ ।

आज भाद्रकृष्ण औँसीका दिन नेपालीको घर घरमा कुश भित्रयाएर यस पर्व मनाईदै छ ।

शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नु भएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गर्ने गरिन्छ ।

साथै आज पितृसम्मान दिवस पनि हो । यसै अवसरमा छोराछोरीले आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने सन्तानहरुले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्दछ । आजको औँसीलाई गोकर्णे औँसीका नामले समेत लिने गरिन्छ ।

आजको औंशीमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावती नदीका तिरमा गई आफ्ना बुवा नहुने सन्तानहरुले श्राद्ध गरी पितृलाई तर्पण दिने गर्दछन् ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुरूप आफ्ना सन्तानमाथी भलो चिताउने तथा माया ममता गरी हुर्कायर शिक्षा दिक्षा प्रदान गरी सही गन्तव्यमा हिड्न सिकाउने साथै असल संस्कार दिन सक्ने छोराछोरी प्रति समर्पित आफ्ना बावुलाई आजको दिनमा मात्रै भेट गर्ने भन्दा पनि उहाँको आदर सम्मानमा श्रद्धापूर्वक रुचि अनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ भन्ने धार्मिक मान्यता रही आएको छ ।

बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको छ। अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनु पर्छ भन्ने शास्त्रीय मान्यता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस