
नारी बाटिका
नारी वाटिका संवाददाता
वीरगञ्ज ८ भदौ ।
वीरगञ्जमा हैंजाको प्रकोप फैलिएको छ । वीरगञ्ज महानगरमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको हो । समुदायस्तरमै हैजाको संक्रमण फैलिन थालेपछी विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ ।
दुई दिनयता वीरगजको सहरी वडाहरूमा झाडापखालासँगै हैंजाका बिरामीको संख्या बढ्दै गएपछि त्यसको नियन्त्रण र रोकथाममा जुटेको वीरगञ्ज महानगरपालिकाले भदौ ८ र ९ गते दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको छ ।
हैजाको संक्रमणलाई मध्यनजर गर्दै भदौ ८ र ९ गते दुई दिनका लागि वीरगञ्ज महानगर अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गरेको छ ।
महानगर क्षेत्रभित्र हालका लागि पानीपुरी, चाट, चटपटे (भाजा) आदिको बिक्री–वितरणमा पनि रोक लगाइएको छ । खुला रूपमा बिक्री–वितरण हँुुदै आएका ति खाद्यपदार्थमा प्रयोग गरिएका पानी दूषित भई हैजाका जीवाणु मिसिने सम्भावना भएकाले ती खाद्यपदार्थहरु बिक्री–वितरणमा रोक लगाइएको हो ।
वीरगञ्ज महानगरपालिकामा शनिवार बिहान मेयर राजेशमान सिंहले वीरगञ्जका अस्पतालहरूका प्रतिनिधिहरूसँग गरेको आकस्मिक बैठकले हैजाको रोकथाम र नियन्त्रणका लागि स्थानीय स्तरमा सचेतना फैलाउन र तत्काल रेस्पोन्स गर्नका लागि स्वास्थ्यकर्मीहरूको २५ वटा टोली गठन गरी परिचालन गर्ने निर्णय पनि गरेको छ । यसका लागी हेल्प डेस्क र सूचना केन्द्र स्थापना गर्ने निर्णय पनि गरिएको छ ।
नगरको १ देखि १६ नम्बर वडा हैजाको बढी जोखिमयुक्त क्षेत्र मानिएको छ । शुक्रवारदेखि शनिवार सम्मको प्राप्त रिपोर्ट अनुसार १७ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। तराई हस्पिटलमा ८, नारायणी अस्पतालमा ५, नेसनल मेडिकल कलेजमा ३ र अनि अर्थो सेन्टरमा १ गरी हालसम्म १७ जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको छ ।







प्रतिक्रिया दिनुहोस