आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज रमाईलो संग मनाईँदै

२०८२ भाद्र १०, मंगलबार मा प्रकाशित ( ८ महिना अघि) ६९१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१० भदौ ।
आज भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व । सनातन धर्मावलम्बी महिलाहरुले मंगलबार उमामहेश्वरको व्रत तथा पूजा(आराधना गरी मनाउँदैछन्।

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी सनातन धर्मावलम्बी महिलाहरुले स्नान गरी दिनभर निराहार व्रत बस्ने र उमामहेश्वरको पुजा आराधना गर्ने धार्मिक प्रचलन छ।

सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसेर कठिन तपस्या गरी महादेव पति पाएको पौराणिकमा व्रहण गरिएको छ। त्यसै अनुरुप विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने धार्मिक विश्वास गरिन्छ।

तर आजको तिजमा सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने विधान छ। धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतमले निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताउनु भयो। ‘सक्नेले निराहार,व्रत लिने र नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ’, उहाँले भन्नु भयो।

तिजको भोलिपल्ट सबेरै ‘लोापामुद्रा’लाई अर्घ्य दिएपछि तीजको व्रत पूर्ण भएको मानिन्छ। विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामना गर्दै व्रत बस्ने परम्परा छ। साथै यस व्रतमा अटल सौभाग्य र असल सन्तान प्राप्तिको कामनासहित विवाहितले व्रत बस्ने गर्दछन् ।

साथै अविवाहितहरु भने असल वर तथा वधुप्राप्तिका लागि तीजको व्रत बस्ने विधान रहेको धर्मशास्त्री ​प्राडा देवमणि भट्टराईको भनाई छ। व्रतलाई संकुचित अर्थमा लिन नहुने उहाँको भनाइ छ।

आज काठमाडौं स्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालु महिलाको घुइँचो लाग्छ।

यस्तै आज तीजको व्रत बस्दा आडिलो होस भनेर माइतीले चेलिबेटीलाई बालाउने र सम्भव भएसम्म सबै दिदीबहिनी एकै थलोमा जम्मा भई अघिल्लो दिन बेलुकी ‘दर’ खाने परमपरा रहेको छ। वर्षभर घरव्यवहारमा भोगेका आ आफ्ना दुःखकष्टहरु सामूहिकरूपमा तिजका गितका रुपमा पोखेर महिलाहरू नाचेर रमाउने गर्छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस