
नारी बाटिका
बिवियु – नारी वाटिका संवाददाता
काठमाडौँ -२३ भदौ ।
९ वर्ष भयो एक जनापनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेट्न सकेको छैन ।
सरकारले ८६ हजार निजामती कर्मचारीबाट एकजनालाई सर्वोत्कृष्ट कर्मचारीमा छनौट गरी पुरस्कृत गर्न सकेको छैन ? यस्तै पुरस्कारको राषीसमेत तयार गरी हातमा पुरस्कार लिएर प्रदान गर्ने तयारीमा रहेको सरकारले यस वर्षको उत्कृष्ट कर्मचारीको नामसमेत भेटाउन नसकेको हो । उत्कृष्ट कर्मचारीको नामावली घोषणा हुने भनिएता पनि देशमा नागरिकका लागी सेवामा समर्पित हुन सक्ने र भएका एकजना पनि कर्मचारी नभेटिएको हो ।
२०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेबाट नै निजामती सेवा पुरस्कारको वितरण थालिएको हो । निजामती सेवा नियमावली २०५० मा निजामती सेवा दिवसको दिनमा २ लाख रुपैयाँ राशिसहित एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ दिने व्यवस्था छ ।
त्यस्तै, हरेक वर्ष १० जनालाई १ लाख रुपैयाँ राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई ५० हजार रुपैयाँ राशिको निजामती सेवा पुरस्कार दिने व्यवस्था पनि नियमावलीमा छ । तर, सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी छान्न भने सरकारले सकेकै छैन ।
पछिल्लोपटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता हरेक वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार मात्र दिइएकोमा यस वर्ष पनि राम्रो कर्मचारी भेटाउन नसकिएको हो ।
नियमावलीमा सर्वोत्कृष्ट कर्मचारी पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा पन्ध्र वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको, हुनु पर्ने छ ।
सम्पत्ति विवरण नियमित रूपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको, पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको लगायतका प्रावधानहरू छन् ।
उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा दश वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको, पछिल्लो दश वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको लगायतको हुनु पर्नेछ ।







प्रतिक्रिया दिनुहोस