आज: २०८२ आश्विन ६, सोमबार | Mon, 22, Sep, 2025

बडादशैँको नवरात्र सुरु, आज पहिलो दिन घर–घरमा जमरा राखिँदै

२०८२ आश्विन ६, सोमबार मा प्रकाशित ( २ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


घटस्थापनाको साइत ९ बजेर १३ मिनेट जाँदा शुभ साईत रहेको

नारी वाटिका संवाददाता
काठमाडौँ -६ असोज ।

हिन्दुहरूको महान् पर्व आजदेखि बडादशैँको नवरात्र सुरु भएसंगै घटस्थापनाो राखिँदैछ ।

नेपालीहरुको सबैभन्दा ठुलो चाड आजैदेखी आश्विन शुक्ल पूर्णिमा अर्थात १५ दिनसम्म धूमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज नेपालीका घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आरधाना गरी पूजा आरम्भ हुंदैछ ।

घटस्थापनाको लागी आज बिहानै नित्य कर्म गरी नजिकको नदी,तलाउ तथा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवादशैँ घरमा विधिपूर्पक जमरा राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गा मातालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसंगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गर्ने गरिन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनु हुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा पनि प्रयोग गरिन्छ ।

आजैका दिन विधिपूर्वक घटस्थापनाको लागी ९ बजेर १३ मिनेट जाँदा शुभ साईत मानिएको छ ।

घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ०९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको बताएको छ ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखि नै चलि आएकोछ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा भवानीको बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा देवीको विशेष आरधाना गर्ने पर्वको रुपमा मानिएको हो

नौ दिन नौ दुर्गाको पूजा

नवदुर्गाको पुजा गर्दा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने धार्मिक नियम छ । दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय रुपमा नै प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

दशैँ पर्वलाई असत्यमाथिको सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस