आज: २०८२ आश्विन १६, बिहिबार | Thu, 02, Oct, 2025

बडादशैँको मुख्य दिन आज,टिकाको उत्तम साइत भने बिहान ११ बजेर५३मिनेटमा शुभ

२०८२ आश्विन १६, बिहिबार मा प्रकाशित ( २0 घण्टा अघि) २५४३ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ १६ असोज ।

बडादशैंको मुख्य दिन आज विजया दशमी । टिकाको उत्तम साइत भने अहिले बिहान ११ बजेर ५३ मिनेटमा शुभ रहेको छ ।

असत्यमाथि सत्यको विजयका रूपमा मनाइने नेपालीहरुको मुख्य पर्व दशैँ हो। आजको दिनमा मर्यादा पुरूषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको दिन हो । यससंगै शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा पौराणिककालदेखी दशैँ मनाउने परम्परा चल्दै आएको हो ।

यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहिबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णाय समितिले जनाएको छ। असोज ६ गतेका दिन वैदिक धर्मविधि अनुसार राखिएको जमरा पुजा विधि गरी देवी भगवतीलाई अर्पण गरेर दशमीमा टिका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ।

उत्तम साइतमा टिका लगाउन नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि नै टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र दिनभर नै टीका लगाउन सकिने पञ्चाङ्ग निर्णाय समितिले जनाएको छ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु समेत आवश्यक पर्दैन ।राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।साथै शुभ साइतमै टीका लगाउँदा देवीको शक्तिसमेत प्राप्त हुन्छ’, भन्ने मान्यता छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीमा आफुभन्दा ठुला अथवा मान्यजनको हातबाट टीका लगाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सकिनेछ । घटस्थापना गरी जमरा राखेको स्थानमा देवीको आरधना गरी राखेको जमरालाई पनि त्यसै दिन विसर्जनको साइत बिहान ८ः३३ बजे रहेको समितिले जनाएको छ।

​चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेको उहाँको शक्ति र राक्षजमाथी विजयीलाई विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। सोही समयदेखी आजको दिनलाई विजयको प्रतीकका रुपमा लिईन्छ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसादको साथमा उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

टीका लगाइदिँदा यस मन्त्रले आशीर्वाद दिने गरिन्छ

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस