आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

नर्सहरूको मागमा तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

२०८२ आश्विन ३०, बिहिबार मा प्रकाशित ( १ हफ्ता अघि) २२९५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -३० असोज।

प्रधानमन्त्री सुशीला कार्कीले मणिपाल मेडिकल कलेज लगायत देशका विभिन्न स्वास्थ्य संस्थामा आन्दोलनरत नर्सहरूको माग सम्बोधन गर्न निर्देशन दिनु भएको छ।

स्वास्थ्य मन्त्रालयसमेतको जिम्मेवारी समालेकी प्रम कार्कीले बिहीबार सिंहदरबारमा स्वास्थ्य सचिव डा.विकास देवकोटाको टोलीलाई बोलाएर नर्सहरूको आन्दोलनप्रति संवेदनशील भएर अघि बढ्न र उनीहरुका मागबारे समाधानको बाटो खोज्न निर्देशन दिनु भएको हो।

प्रम सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिनु भएको बैठक टोलीमा सहभागी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनु भयो। डा बुढाथोकीका अनुसार प्रधानमन्त्रीसँग मन्त्रालयगत विविध विषयमा छलफल भयो । यसै क्रममा उहाँ नर्सहरूको आन्दोलनको विषयमा विशेष चासोका साथ दक्ष स्वास्थ्यकर्मीहरूको पारिश्रमिक विषयमा संवेदनशील हुन र उनीहरूको मागबारे चाँडै समाधान निकाल्न निर्देशन दिनु भएको छ।

केही दिनदेखि पोखरास्थित मणिपाल मेडिकल कलेज लगायतमा कार्यरत नर्सहरुले आफु्नो काम अनुसारको पारिश्रमिक नपाएको रआफूहरूको तलब स्वास्थ्य सेवाअन्तर्गतको पाँचौँ तहको कर्मचारीको सरह हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका छन्।

यस्तै नर्सहरुको मागको विषयमा निजी मेडिकल कलेज सञ्चालकहरुले तत्काल पूरा गर्न नसकिने प्रतिक्रिया दिएका छन् तर नेपाल नर्सिङ संघले यसलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरेको छ। उनीहरुले तत्काल मागको सम्वोधन नगरे नर्सहरू देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस