
नारी बाटिका
बिवियु ,नारी वाटिका संवाददाता
धादिङ-२ कार्तिक ।
घरमा कुनै अनिष्ट हुन लाग्यो भने घरको धुरीमा बसेर काग करायर सन्देश दिने गर्दछ भन्ने मान्यता छ ।
सोही अनुरुप प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा कागको पुजा गरी, मिठो खान दिएर मनाइने गरिन्छ । काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा चिनिने कागलाई मीठोमीठो खान खानेकुरा दिएर मनाइँदैछ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनु पर्ने भएकाले शास्त्रसम्मत् रूपम आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ। मानिसको जिवनको सुरक्षाका निमित्त कागले यमराज समक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको जन विश्वास छ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहेको छ।
काग तिहार कै अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष हुने गर्दछ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गर्ने गरिन्छ। त्यस मन्दीरमा कागको ठूलो मूर्ति बनाइएको छ।
दुष्कर्म गरी अरुमाथी अन्याय तथा पापकर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने धार्मिक विश्वाससित जोडिएको पर्व तिहार हो। यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ।
यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ। यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकी देखि नै सुरु भएको हो।
यसका साथै लक्ष्मीलाई खुशी तुल्याई उहाँलाई आफ्ना घरमास्थिर राख्नका लागि यस दिन गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ। यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ।







प्रतिक्रिया दिनुहोस