आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

आज भाईटिका, तिहारको पाँचौँ दिन,यसका साथमा भाईटीकाको महत्व

२०८२ कार्तिक ६, बिहिबार मा प्रकाशित ( २ दिन अघि) १५५१ पटक पढिएको
नारी बाटिका


बिवियु, नारी वाटिका संवाददाता

धादिङ ६ कार्तिक ।

आज यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई मायाँ,स्नेह र श्रद्धापुर्वक माईतीको अटल जिवनको लागी विशेष आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार दाजुभाईका निधारमा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

चेलीवेटीको लागी दुख सुखमा माईतीघरको विशेष भुमिका रहने भएकोले हरेक चेलीको लागी आफ्ना दाजुभाई निकै पियारो लाग्ने गर्दछ । परमपरा र सांस्कृतीक महत्व बोकेको यस तिहार पर्वमा दिदीबहिनीले दाजुभाइलाई सयपत्री फुलले पुजा गरी निधारमा सप्तरङ्गी टीका लगाई सकेपछी दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई शिरमा सयपत्री फुल लगाउने गरिन्छ ।

कतिपय समुदायमा तिहारमा सयपत्री लगायतका फुलको माला आफ्ना दाजुभाइका शिरमा नलगार्ई दिदीबहिनीहरुले फुलको थुंगापनि आफुले नलगाउने परमपरा छ । दाजुभाईलाई सयपत्री लगायतका फुलले तिहारमा पुजा गरेपछी मात्रै दिदीवहिनीले लगाउने गरिन्छ । तिहारमा दाजुभाईलाई सयपत्री लगायतका फुलले पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

“भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो”, उनले भने।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिनु भयो ।

सयपत्री बलगायत विभिन्न जातका फुलले दाजुभाईलाई पुजा गरी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, भाई मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने र सोही मन्दीरमा गई दिदीवहिनीका सम्झनामा पूजा एवं दर्शन गर्ने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दथ्यो । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस